काठमाडौं- आइतबारको तुलनामा न्यूनतम तापक्रम कम हुँदा आज बढी चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
न्यूनतम तापक्रम आइतबार ८ डिग्री सेल्सियस रहेकोमा सोमबार भने ३ दशमलब ५ डिग्री सेल्सियसमा झरेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। उनका अनुसार मङ्गलबारसम्म मौसममा केही सुधार देखिएपनि बुधबारदेखि यो साताभरिनै मौसममा आंशिक बदली भइरहने र हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
पश्चिमी वायुको प्रभावले आज पहाडी भेगहरूमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मङ्गलबार देशका पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ भने देशका पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति भने देशभरि नै मौसम सामान्यतया सफा रहने छ। त्यस्तै बुधबार देशका पश्चिमी क्षेत्रमा आंशिक बदली रही हल्का वर्षा र हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।