काठमाडौं– युएईविरुद्धको निर्णायक तथा अन्तिम एकदिवसीय खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।
दुबईको आइसिसी एकेडेमीमा हुने खेल जिते नेपालले इतिहास बनाउनेछ। अघिल्लो वर्ष एकदिवसीय मान्यता पाएको नेपाल यसअघि नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय सिरिजमा १–१ को बराबरी खेलेको थियो।
सोमबार दुबईस्थित आइसिसी एकेडेमीमा हुने खेलमा जित्न सके नेपालले पहिलो पटक एकदिवसीय सिरिज जितेर इतिहास बनाउने छ। यसअघि पहिलो खेलमा युएई ७ विकेटले विजयी हुँदा दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकाल्दै सिरिज १–१ को बराबरी गरेको थियो। खेलपछि नेपाल एकदिवसीय वरीयतामा पनि आउने भएकाले खेल महत्वपूर्ण छ।
पहिलो खेलमा खराब ब्याटिङ गरेको नेपालका लागि तेस्रो खेलमा पनि मुख्य चुनौती ब्याटिङमा छ। नेपाल पहिलो खेलमा १ सय १३ रनमै अलआउट भएको थियो। दोस्रो खेलमा सुधारिएको ब्याटिङ गरेको नेपालले २ सय ४२ रन जोड्दा जित सहज बनेको थियो।
खेलमा ब्याट्सम्यान सन्दीप जोराले डेब्यू गरेका छन्। अघिल्ला खेलमा मौका नपाएका उनले अलराउन्डर पवन सराफको स्थानमा खेल्न लागेका हुन्। अन्य खेलाडीमा भने परिवर्तन गरिएको छैन।
नेपाली टिम– ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, आरिफ शेख, रोहितकुमार पौडेल, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।