दाङ– हिउँदे वर्षाका कारण दाङमा १० करोड मूल्य बढीको इँटा नष्ट भएको छ। एकाएक मौसममा परिवर्तन आई वर्षा हुँदा इँटा उद्योगहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको व्यवसायीहरुले बताएका छन्।
माघ ११ र १२ गते भएको वर्षाको कारण दाङका ३२ वटा इँटा उद्योगमा क्षति पुगेको छ। इँटा व्यवसायी संघ दाङले दिएको जानकारीअनुसार ३२ इँटा उद्योगका करीब १ करोड ३९ लाख थान इँटामा क्षति पुगेको छ।
इँटा व्यवसायी संघ दाङका अध्यक्ष रोम वलीका अनुसार इँटासँगै निर्माणाधीन दुई वटा इँटा उद्योगसमेत भत्किएका छन्।
खुल्ला आकाशमा उत्पादन गरिने र काँचो इँटाको बिमासमेत नहुँने हुँदा हरेक वर्ष ठूलो परिमाणमा इँटा नोक्सान हुने गरेको छ। व्यवसायीहरुले बिमाको लागि निरन्तर पहल गरे पनि सुनुवाइ नभएको अध्यक्ष वलीले बताए। ‘बिमाको लागि धेरै प्रयास गरेका हौं, तर सफल हुन सकिएन’, उनले भने।

हरेक वर्ष वर्षाका कारण इँटा व्यवसायीले नोक्सान व्यहोर्नु परे पनि यस वर्ष तुलनात्मक रुपमा बढी नोक्सान भएको अध्यक्ष वलीको दाबी छ।
इँटा उत्पादनको लागि यो समय अनुकुल हुने गरेपनि हिँउदे वर्षाका कारण क्षति व्यहोर्नु परेको व्यवसायीहरुले गुनासो गरेका छन्।
वर्षाले काँचो इँटामा क्षति गरेपछि यो वर्ष जिल्लामा इँटाको अभाव हुने र मूल्य बढ्नसक्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।