जनकपुर– उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मधेश आन्दोलनको दम्भ नदेखाउन चेतावनी दिएका छन्।
मन्त्री यादवले मुख्यमन्त्री राउतलाई विकासविरोधी चरित्र प्रदर्शन नगर्न सुझाब दिँदै यस्तो चेतावनी दिएका हुन्।
जनकपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले प्रदेश सरकारको बोली र व्यवहारमा ठेगान नरहेको आरोप पनि लगाए।
मन्त्री यादवले प्रदेश सरकार विकास तथा समृद्धिप्रति प्रतिवद्ध नभएको भन्दै जनकपुर चुरोट कारखाना लिमिटेड सञ्चालनका लागि सत्तारुढ संघीय समाजवादी फोरम नेपाल लगायत सबै दल सहमत रहेका बेला जानकारी विनै प्रदेश सरकारले जचुकाली कब्जा गरिरहेको बताए।
उनले कारखाना सञ्चालनमा अवरोध गर्ने मनसायले मधेश आन्दालेनका नाममा गतिविधि भइरहेको समेत बताए। मन्त्री यादवले भने, ‘प्रदेशका जनतालाई रोजगारीको लागि उद्योग सञ्चालन गर्न अपरिहार्य रहेको हुँदा कब्जा गरिएको जग्गा र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बोर्ड तत्काल हटाउनसमेत अनुरोध गर्दछु।’
मन्त्री यादवले मुख्यमन्त्री राउतलाई जचुकाली सञ्चालनका लागि वातावरण बनाउन सहयोग गर्न आग्रह गर्दै मुख्यमन्त्रीको कार्यालयले विस्तार गरेको क्षेत्र हटाउन आग्रह गरिएको बताए।
‘मुख्यमन्त्री राउतले त जचुकाली सञ्चालनका बारेमा गम्भीर नभई पहिला वीरगञ्जस्थित चिनी मिल सञ्चालन गरेर देखाउन पो भन्छन्। जबकि सरकारले बन्द कारखाना तथा उद्योग सञ्चालनका लागि नीति ल्याउँदै गरेका बेला यसरी मुख्यमन्त्री राउतले बोल्नु मधेश आन्दोलनको भावना विपरित छ,’ मन्त्री यादवले भने।
उनले जचुकाली सञ्चालनका लागि ४ जना चाइनिज र २ जना भारतीय लगानीकर्ताहरूसँग निरन्तर संवाद र सम्पर्क भइरहेको बताए।
विदेशी लगानीकर्ताहरु जचुकाली अनुगन गर्न जनकपुर आइरहेका बेला जचुकालीको बोर्ड समेत हटाएर कारखाना सञ्चालन प्रति गम्भीर नहुनु दुखद रहेको गुनासो गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।