विराटनगर– पाँचथर र इलाममा आइतबार बिहान भएको आगलागीबाट करीब ५० लाख मूल्य बराबरको क्षति भएको छ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–४, च्याबलुङका गणेश फुयाँलको घरमा आगलागी हुँदा करीब ३५ लाख मूल्य बराबरको क्षति भएको हो। बिहान ४ बजे भएको आगलागीमा उनको २ तले घर, लत्ता–कपडा, भाडावर्तन, १ तोला सुन, ५ तोला चाँदी र नगद १ लाख रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा करीब १ घन्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरी चौकी राँकेले जनाएको छ। आगलागीको कारण भने खुलेको छैन।
यसैगरी, इलामको इलाम नगरपालिका–७ का मनबहादुर गुरुङको घरमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको छ। बिहान साढे ६ बजे गुरुङको घरमा डेरा गरी बस्ने विष्णुमाया लिम्बुको भान्सा कोठाबाट आगालागी सुरु भएको थियो। ग्याँस सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीमा नगद १० लाख, सुन–चाँदीका गहना र लत्ता–कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।