काठमाडौं– मौसम आएको खराबीका कारण ठप्प भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा सुचारु भएकाे छ।
बाक्लो हुस्सुका कारण धावन मार्गमा ‘भिजिवलिटी’ कम हुँदा आइतबार बिहानैदेखि आन्तरिक तथा बाह्य कुनै पनि उडान हुन सकेको थिएन।
त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार आइएफअआरतर्फ उडान सुचारु भएपनि भिएफआरतर्फ भने अझै उडान हुन सकेकाे छैन। 'भिएफआरतर्फ आवश्यक पर्ने भिजिवलिटी अझै पुग्न सकेकाे छैन, साेतर्फ अझै केही समय लाग्ने देखिन्छ', क्षेत्रीले भने।
उडानका लागि धावन मार्गको ‘भिजिवलिटी’ कम्तीमा १ हजार ५ सय मिटर हुनुपर्छ। तर, बिहान विमानस्थलको भिजिवलिटी १ सय मिटर पनि थिएन।
भिजिवलिटी कम भएका कारण हुननसकेका बिहानी सत्रका उडानलाई क्रमश: सुचारु गरिने पनि क्षेत्रीले बताए। 'बिहान आन्तरिक र बाह्य कुनै पनि फ्लाइट हुन सकेन। त्यसकारण अहिले विमानस्थलमा लाेड बढी छ। बिस्तारै राेकिएका सबै उडानहरु हुनेछन्', उनले भने।
बिहान बिमानस्थलमा अवतरण गर्न नसक्दा विमानहरु लामाे समय आकाशमै ‘होल्ड’ भएका थिए भने कतिपय आन्तरिक उडानलाई डाइभर्ट गरिएको थियाे।
त्रिभुवन विमानस्थलबाट दैनिक ३ सयभन्दा बढी आन्तरिक र ८० भन्दा बढी अन्तराष्ट्रिय उडान हुने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।