काठमाडाैं- धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।
धनुषाको सबैला नगरपालिकास्थित बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत प्रवाह भइरहेकाे तारमा ना५ख १७५२ नम्बरको जन्ती बोकेको बसले छुँदा साे दुर्घटना भएकाे धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गाेविन्द थपलियाले जानकारी दिए।
'जन्ती गएर फर्किँदै गरेकाे बसकाे हुटमा रहेकाे ट्यांकामा तारले छुँदा बसमा करेन्ट प्रवाह भएकाे हाे', थपलियाले भने, 'विद्युतकाे लाइन काटेर ६ जनाकाे लास निकालिसकेका छाैं, घाइतेहरुलाई अस्पताल पुर्याउने काम भइरहेकाे छ।'
घटनामा परी बसमा सवार ९ जना जन्तीको घटनास्थलमै मृत्यु भएको हाे। मृत्यु हुनेमा सिन्धुलीका वर्ष ९ का आक्रोश कुँवर, वर्ष २२ की पूजा अधिकारी, उमेर खुल्न नसकेकी लिला अधिकारी, धनुषा सबैला ४ पटेर्वाका केशव वेरी कुँवर लगायत छन्।
घाइतेहरुकाे जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेकाे थपलियाले बताए। बसमा करीब ४० जना सवार रहेकाे हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ।
बस सिरहाको कमलाखोरबाट धनुषाको बल्टिया कोठियामा जन्ती बोकेर आउँदै गरेको थियाे। बसमा सवारमध्ये अन्य जन्तीहरुकाे अवस्था भने गम्भीर रहेकाे प्रहरीले जनाएको छ।
बेहुला रामवरण कुँमर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडीमा रहेकाले सकुशल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।