काठमाडौं– सरकारले दुरसञ्चार पूर्वाधार कम्पनी गठन गर्ने तयारी भएको बताएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दुरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउन सरकारले छुट्टै कम्पनी गठन गर्ने कामलाई अघि बढाएको बताएका छन्।
शुक्रबार संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठकमा मन्त्रालयको आगामी कार्ययोजनाबारे जानकारी गराउँदै मन्त्री बाँस्कोटाले दुरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणको एउटै काममा थुप्रै बजेट खर्च हुने गरेको उल्लेख गर्दै अब त्यसलाई सदुपयोग गरेर अघि बढन पनि छुट्टै कम्पनी बनाउने तयारीमा सरकार लागेको स्पष्ट पारे।
मन्त्री बाँस्कोटाले सो कम्पनी नेपाल टेलिकमको मातहतमा रहने र त्यसले बिस्तार गर्ने फाइबर, टावरलगायतका काममा निजी क्षेत्रका दुरसञ्चार सेवा प्रदायक संस्थाहरुले पनि लगानी गर्ने कानुनी व्यवस्था गर्ने योजना पनि अघि सारेको समितिमा बताए।
थोरै लगानीमा धेरै प्रतिफल दिने भएकाले पनि उक्त कम्पनी सरकार र निजी क्षेत्र दुवैका लागि फाइदाजनक हुने मन्त्री बाँस्कोटाको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।