काठमाडौं– तनहुँका जिल्ला न्यायाधीश ओमकार उपाध्यायलाई न्याय परिषदमा झिकाइएको छ। न्यायमा विचलन भएको प्रारम्भिक निष्कर्ष निकाल्दै उनीविरुद्ध परेको उजुरीका आधारमा परिषदले तानेको हो।
उपाध्यायलाई विगतमा परिषदमा झिकाएर सचेत गराइएको थियो। तर उनले आफ्नो आचारण सुधार नगरेको र पटकपटक परिषदमा गम्भीर उजुरी परेकाले छानबिनका लागि तानिएको एक सदस्यले बताए। ‘उनी माथिको छानबिनका लागि कमिटीसमेत निर्माण भएको छ,’ ती सदस्यले भने, ‘उपाध्यायको प्रमाणपत्रको विषयमा समेत उजुरी परेकाले तत्काल छानबिनका लागि झिकाइएको हो।’
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्चको नेतृत्व सम्हालेलगत्तै केही न्यायाधीशलाई सरुवा गरेका छन्। संसदीय सुनुवाइका क्रममा ’भ्रष्टाचारविरुद्ध आक्रामक हुने’ बताएका राणाले सूक्ष्म निगरानी संयन्त्रसमेत निर्माण गरेका छन्। राणाको सुरुवाती कारबाहीमा चार जिल्ला न्यायाधीश परेका थिए । उपाध्याय पाचौं न्यायाधीश हुन् ।
जिल्ला अदालत ललितपुरमा कार्यरत विश्वमंगल आत्रेयलाई ठगी मुद्दा लगायत अन्यमा न्याय सम्पादनमा विचलन आएको भन्दै न्याय परिषद्मा हाजिर गराएका थिए। उनीसँगै अम्बिका निरौलासमेत परिषद्काजमा तानिएको थियो निरौलालाई नवलपुर (नवलपरासी सुस्तापूर्व) सरुवा गरिएको थियो भने आत्रेयलाई परिषदमै छानविन थालिएको छ। उच्च अदालत विराटनगरका मुख्यसहित छ न्यायाधीश पनि छानविनमा रहेका छन् ।
लामो समयदेखि न्याय परिषद्मा उजुरीमाथि छानबिन हुने गरेको थिएन। तर राणाले आफू आएलगत्तै न्यायाधीशहरुलाई सरुवा गर्ने क्रम थालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।