काठमाडौं- ठूलीमाया तामाङको दैनिकी बिहान ३ बजेदेखि सुरु हुन्छ । सखारै उठ्नु, डेराबाट कालिमाटी पुग्नु र १० बजेसम्म तरकारी बेच्नु उनको नियमित तालिका हो । त्यहाँबाट फर्किए पनि दिनभर उनी आराम गर्न पाउँदिनन् । घरधन्दा र सरसफाइ गर्दागर्दै फेरि कालिमाटी जाने समय आइहाल्छ।
४ बजे नै तरकारी बजार पुग्ने गरेकी उनी साँझ मात्र फर्कन पाउँछिन्, जबसम्म तरकारी बेचेर सकिन्न।
बिरामी भएर हिँड्नै नसके मात्र, नत्र ५६ वर्षीय उनी बाह्रैमास कालिमाटीमा भेटिन्छिन्- सिजनसिजनका तरकारी बेच्दै गरेको अवस्थामा।
तरकारीसँगको उनको साइनो भरखरैको होइन । झन्डै २० वर्षदेखि उनी यही व्यापारमा छिन्।
***
काभ्रे छोडेर काठमाडौं आएपछि सपरिवार ठूलीमाया यत्तिकै डेरामा बसिरहेकी थिइन् । कुनै जागिर वा पेसाव्यवसाय थिएन । परिवारको आर्थिक अवस्था राम्रो थिएन । भाडा तिर्न पनि गाह्रो थियो तामाङ परिवारलाई।
सानो छोरो हुर्कंदै थियो । उसको लालनपालन र पढाइको जिम्मेवारी समेत थपिने भएकाले उनी चिन्तित थिइन् । श्रीमान् अरुको भारी बोक्ने काम गर्थे । उनको कमाइ पनि नियमित थिएन।
यही दिग्दारीमा रुमल्लिरहेकी उनलाई लक्ष्मी तामाङको सल्लाहले ठूलो राहत दियो । त्यही सल्लाहकै कारण उनी अहिले तरकारी व्यापारमा टिकिरहेकी छिन्।
कालीमाटीमै व्यापार गर्थिन् लक्ष्मी । उनी भन्थिन्, ‘खाली समयमा त्यतिकै बस्नुभन्दा केही न केही काम गर्यौ भने परिवारलाई ठूलो भरथेग हुन्छ । आफू पनि आत्मनिर्भर भइन्छ।'
तर तत्काल ठूलीमायासँग व्यापार गर्नलाई मोटो रकम थिएन । लक्ष्मीसँगै बिहानै कालिमाटी जान थालिन् । उनले कृषकसँग चिनजान गराइदिइन्। गाउँबाट आएको तरकारी लिएर आफू बेच्न थालिन् । केही कमिसन लिएर अरु कृषकलाई बुझाउँथिन्।
यसरी नै हो उनले व्यापार थालेको। 'त्यसपछि त मैले त्यो दु:खलाई फर्केर हेर्नुपरेको छैन,' उनी खुसी हुँदै भन्छिन्, 'यही व्यापारले घरव्यवहार चलिरहेको छ।'
कुनै पनि व्यवसाय सानो वा ठूलो हुँदैन । ठूलीमायाले संघर्षपूर्ण दिन बिताउँदै सुरु गरेको व्यापारले आज आत्मसन्तुष्टि दिएको छ । परिवारका अन्य सदस्यहरु पनि यही व्यापारबाट निर्भर छन् । 'पहिलेको दिन सम्झँदा त दु:ख लागेर आउँछ,' उनी विगततिर फर्कन चाहन्नन्, 'आँट र इच्छा नै ठूलो कुरा रहेछ । व्यापारबाटै जम्मा गरेको पैसाले छोराको बिहे पनि गरिदिएको छु। इमानदारपूर्वक जुनसुकै काम गर्न केको लाज?'
अहिले त उनी आफै तरकारी खरिद-बिक्री गर्न थालेकी छिन् । यही व्यापारले परिवारको जीवन निर्वाह चलिरहेकै छ । एक केजी तरकारीमा १० रुपैयाँसम्म नाफा निकाल्छिन् उनी । 'दिनमा कहिले त १५ सयसम्म फाइदा हुन्छ,' उनले हिसाब गरिन्।
समस्या उस्तै
हेर्दा सजिलो व्यापार देखिए पनि उनी जस्ता तरकारी व्यापारीको समस्या पनि उत्तिकै छन्।
पानी परेको बेला बाटोमा तरकारी बेच्न सकिन्न । दसैंको समयमा व्यापार शून्यजत्तिकै हुन्छ। भरियाले ज्याला बढाएकाले पनि नाफा कम हुन थालेको छ। 'सुरुका दिनमा एक भारी तरकारीको ज्याला भरियाले १० रुपैयाँ लिन्थे अहिले सय रुपैयाँसम्म लिने गरेका छन्,' उनले बाध्यता सुनाइन्।
उनले सधै धादिङका कृषकबाट तरकारी खरिद गर्ने गरेकी छिन् । पहिले थोरै मूल्यमा धेरै तरकारी आउँथ्यो । त्यहीअनुरुप नाफा पनि बढ्थ्यो । तर अहिले तरकारीको भाउ बढेको छ।
तरकारी महँगिनुको कारणबारे उनको आफ्नै बुझाइ छ, 'औषधि नहालेसम्म छिटो फल्दैन । मल, बिउ र औषधि किन्दा धेरै पैसा लाग्ने भएकाले पनि अहिले त तरकारी छोइनसक्नु छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।