काठमाडौं– कैलालीका स्थानीय तहहरुलाई आज (शुक्रबार) देखि नदीजन्य पदार्थ उत्खनन् नगर्न निर्देशन दिइएको छ।
ढुंगा, गिट्टी, बालुवा संकलन, उत्खनन् तथा घाटगद्दी जिल्ला अनुगमन तथा समन्वय समिति, कैलालीले नदीजन्य पदार्थ उत्खनन् पूर्ण विवरण नपठाएका स्थानीय तहहरुमा नदीजन्य सामग्री उत्खनन्मा रोक लगाउने निर्देशन दिएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भने, ‘हामीले जिल्लाका सबै स्थानीय तहलाई नदीजन्य सामग्री उत्खनन् नगर्न भनी पत्राचार तथा मौखिक जानकारी दिइसकेका छौं। आज (शुक्रबार) देखि उत्खनन् गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने छ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार अहिलेसम्म कैलालीका १३ वटा स्थानीय तहमध्ये धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र जानकी गाउँपालिकाले मात्र सोसम्बन्धी विवरण उपलब्ध गराएका छन्।
समितिले तेस्रो पटकसम्म सूचना जारी गर्दा पनि तीन स्थानीय तहबाहेक अन्यले विवरण नबुझाएको जिल्ला समन्वय समिति, कैलालीले जनाएको छ। ‘गोदावरी नगरपालिकाले मौखिक रुपमा जानकारी दिएको छ, तर चार किल्ला सहितको प्रमाणित विवरण भने अझैं दिएको छैन,’ जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी योगेन्द्र ओझाले जानकारी दिए।
जिल्ला समन्वय समिति, कैलालीले स्थानीय तहहरूसँग जिल्लाका खोला तथा नदीबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन्सम्बन्धी चारकिल्ला प्रमाणित सहितको विवरण पटकपटक मागे पनि उनीहरुले विवरण समेत नबुझाएको जनाइएको छ।
‘स्थानीय तहहरूले जिल्ला समन्वय समितिले माग गरेको विवरण बुझाउन कुनै चासो दिएका छैनन्। बरु जथाभावी ढंगले खोला र नदीबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् कार्य जारी राखेका छन्,’ जिल्ला समन्वय समिति, कैलालीका प्रमुख सूर्यबहादुर थापाले भने, 'हामीले आगामी सोमबारदेखि अनुगमन जारी राख्ने तयारी गरेका छौं।'
नदी तथा खोलामा नदीजन्य सामग्री उत्खनन्, संकलन तथा निकासीबारेको अनुगमन गर्न गठित उपसमितिहरु पनि सक्रिय पारिने जनाइएको छ। जिल्ला समन्वय समितिका अनुसार धनगढीदेखि खुटिया, घोडाघोडीदेखि बर्दगोरिया र लम्की–टीकापुर क्षेत्र हेर्ने गरि तीन वटा उपसमिति गठन गरिएको छ। उपसमितिमा इलाका वन कार्यालय, इलाका प्रहरी कार्यालय, वडा अध्यक्ष लगायतको सहभागिता रहेको छ।
जानकी गाउँपालिकाले चार किल्ला प्रमाणित नगरी विवरण बुझाएको छ। धनगढी उपमहानगरपालिकाले तेस्रो पटक सूचना जारी भएपछि सोमबार मात्रै विवरण बुझाएको थियो।
स्थानीय तहहरुले विवरण नबुझाएपछि ढुंगा, गिट्टी, बालुवा उत्खन्नको अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला समन्वय समितिलाई अनुगमन गर्न कठिनाई भएको जिल्ला समन्वय समिति अधिकारी योगेन्द्र ओझाले बताए।
स्थानीय तहहरुले विवरण पनि नबुझाउने र उत्खनन पनि नरोक्ने गरेको हुनाले ढुंगा, गिट्टी, बालुवा संकलन, उत्खनन्, घाटगद्दी जिल्ला अनुगमन तथा समन्वय समितिको सोमबार बसेको बैठकले विवरण नबुझाउने स्थानीय तहलाई उत्खनन र ओसार पसारमा पूर्ण रोक लगाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर कैलाली ३४ नम्बर गण, डिभिजन वन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो।
सो निर्णय अनुसार सुरक्षा निकायका प्रमुखहरुले आजदेखि पूर्ण रुपमा बन्द गर्ने कैलाली प्रहरी प्रमुख आभुषण तिमिल्सेनाले बताए।
त्यस्तै, समितिले विवरण बुझाएका गौरीगंगा नगरपालिका र जानकी गाउँपालिकामा आगामी १४ गते अनुगमन गर्ने जनाएको छ।
जानकी गाउँपालिकाले विभिन्न वडामा पर्ने कर्णाली नदीबाट एक लाख ३४ हजार एक सय ९० घनमिटर ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न लम्कीचुहा नगरपालिका वडा नम्बर २ को रेखा निर्माण सेवालाई एक करोड रुपैयाँमा ठेक्का दिएको विवरण पेस गरेको छ।
त्यसैगरी, गौरीगंगा नगरपालिकाले गौरीगंगा, शिवगंगा, चौमाला र कनरी नदीबाट एक लाख ५९ हजार आठ सय ५१ घनमिटर ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को दाहाल मल्टी ट्रेड प्रालिलाई तीन अर्ब सात करोड रुपैयामा ठेक्का दिएको विवरण बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।