धनगढी– वैदेशिक रोजगारबाट बिदामा घर फर्किएका सुदूरपश्चिम प्रदेशका युवाहरूलाई शुक्रबारबाट पुनः श्रम स्वीकृति दिइने भएको छ।
श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त प्रमुख कृष्णानन्द जोशीले शुक्रबार बिहान एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिने बताएका हुन्।
धनगढीबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि सुदूरपश्चिमका युवाहरूलाई काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने छ।
वैदेशिक रोगजार विभागबाट आएको टोलीले पुनः श्रम स्वीकृति दिनका लागि सर्भर र सफ्टवेयर इन्स्टल गरी जाँच गरेपछि तयारी पूरा भएको जोशीले बताए। श्रम कार्यालयका सूचना अधिकारी जयदेव बिष्टले विभागले एक जना भाषा अनुवादक पठाएको र एक जना कम्प्युटर अपरेटर कार्यालयले नियुक्त गरेको बताए। उनले शुक्रबार बिहान सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गर्ने बताए।
श्रम कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी रहे पनि एक जना निमित्त प्रमुख र एक जना सुब्बा मात्रै कार्यरत छन्। करारमा दुई जना कार्यालय सहयोगी राखेर श्रम कार्यालय सञ्चालन गरिएको छ। कार्यालयमा उपसचिवको दरबन्दी रहेपनि सरकारले नपठाउँदा निमित्तको भरमा श्रम कार्यालय चलेको छ।
सामाजिक विकास मन्त्रालय मातहतको श्रम तथा रोजगार कार्यायमा रहेको रोजगार सूचना केन्द्रको कक्षबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको छ। वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाग गुरागाइँले पुनः श्रम स्वीकृति दिने काम सबै प्रदेशमा गति लिएपछि बाँकी सेवा विस्तारको लागि प्रक्रिया अगाडि बढाइने बताए।
वैदेशिक रोजगार विभागले यसअघि सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ बाहेकमा पुनः श्रम स्वीकृत दिन थालेको छ। विभागका अनुसार प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेत श्रम कार्यालयबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।