राजविराज– नेपाल प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका प्रगतिशील तराई मुक्ती मोर्चा ‘सिजन समूह’का एक जना कार्यकर्ता पक्राउ परेका छन्।
सप्तरीको खडक नगरपालिका–९ का ४१ वर्षीय पशुपति चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
मोर्चामा संलग्न सुरुङ्गा नगरपालिका–६ कडोरवनाका ३५ वर्षीय दिपेन्द्र जैसवाल भन्ने दिपेन्द्र चौधरी मारिएको भोलिपल्टै प्रहरीले पशुपतिलाई सार्वजनिक गरेको छ।
हबल्दारलाई गोली हान्नेदेखि गस्तिको प्रहरी भ्यानमा एम्बुस थाप्नेसम्मका आपराधिक गतिविधिमा चौधरीको संलग्न रहेको एसपी राजेन्द्र बिष्टले बताए।
माघ २ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी हबल्दार महेन्द्र सतरा यादवलाई गोली हानी घाइते, २०७२ सालमा सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्या, २०७४ साउन २१ गते इलाका प्रहरी कार्यालय कडोरवनाको गाडीलाई लक्षित गरी बम विस्फोट, २०७४ असोज २४ गते सुरुङ्गा नगरपालिका–६ स्थित त्रियुगा डिस्ट्रिलरीका सुरक्षा गार्ड नवराज कोइरालाको गोली हानी हत्या लगायतका घटनामा पशुपतिको संलग्नता रहेको प्रहरीको दाबी छ।
पशुपति संलग्न अधिकांश घटनामा प्रहरी कारबाहीमा मारिएका मोर्चाका संयोजक समेत रहेका दिपेन्द्र पनि संलग्न रहेको एसपी बिष्टले बताए।
१० वर्षसम्म नेपाली सेनामा कार्यरत पशुपतिले नै मोर्चाका कार्यकर्तालाई हतियार सम्बन्धी तालिम दिनेदेखि बम तथा एम्बुस तयार गर्नेसम्मका काम गर्दै आएको प्रहरीको भनाइ छ। उनको विषयमा थप अनुसन्धान भइरहेको छ।
मोर्चाका ७ जना कार्यकर्ताको नाम सार्वजनिक
प्रहरीले मोर्चामा संलग्न रहेका अन्य केही कार्यकर्ताको विवरण सार्वजनिक गरेको छ।
सप्तरीको महादेवा गाउँपालिका–८ मझौराका सिजन भन्ने रामकुमार यादव (पूर्व संयोजक), ब्रम्हपुरका रोशन साह, कन्जिराका अशोक साह, रुपनी गाउँपालिकाको खोजपुरका ब्रम्हा ठाकुर, सुरुङ्गा नगरपालिकाको कडरवोनाका दिपेन्द्र चौधरी (मृत्यु) लगायतका व्यक्ति मोर्चामा रहेको एसपी बिष्टले बताए।
मोर्चामा संलग्न रहेको आशंका गरिएका अन्य व्यक्तिका विषयमा पनि अनुसन्धान भइरहेको उनको भनाइ छ।
मृतकका आफन्तद्वारा प्रहरीविरुद्ध प्रदर्शन
प्रहरी कारबाहीमा मारिएका सुरुङ्गा नगरपालिकाको कडरवोनाका दिपेन्द्र चौधरीका आफन्तले राजविराजमा प्रदर्शन तथा जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। प्रहरीले नियन्त्रणमा लिएर दिपेन्द्रको हत्या गरेको बिरोधमा उनीहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीले घटनाको उच्चस्तरीय छानबिन गरी संलग्न प्रहरीलाई कारबाही, मृतक परिवारलाई क्षतिपूर्ति लगायतका माग गरे।

मृतक परिवारको शव परिवारजनले बुझ्न मानेको छैन। शव राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ।
मृतकका बुवा देवनारायण, आमा राजकुमारी, पत्नी पुनम तथा ७ वर्षीया छोरी आरती र ४ वर्षीय छोरा आर्यान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।