काठमाडौं– धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आगामी माघ २६ गतेबाट धनगढीमा हुने रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले मान्यता दिएको छ।
एकेडेमीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई विश्व क्रिकेटको सर्वोच्चो निकाय आइसिसीले मान्यता दिएको जनाएको हो। एकेडेमीका अध्यक्ष सुवाश शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइसिसीले मान्यतासँगै प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई समेत जानकारी गराइसकेको उल्लेख छ।
देशकै पहिलो खेलाडी बोलकबोल (अक्सन) गराउँदै नेपाली क्रिकेटलाई व्यवसायिक बनाएको डीपिएलको ६ वटै टोलीलाई दुई जना अनिवार्य व्यवसायिक खेलाडी राख्नुपर्ने प्रावधान छ। अन्तर्राष्ट्रिय खेलाडीहरु ल्याउनपनि आइसिसीको मान्यता आवश्यक पर्छ।
रुस्लान डीपीएलको तेस्रो संस्करण अनुमानित लागत ५ करोड रुपैयाँको लागतमा फाप्ला क्रिकेट मैदानमा हुदैछ। जसमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डन्स गरि ६ वटा फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछन्।
६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५—१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन्।
टी–२० फम्र्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।