काठमाडौं- ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’बाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत स्वास्थ्यतर्फको प्राविधिक प्रमाणपत्र तह फेज आउट गर्ने बुँदा तत्काल हटाउन माग गर्दै संसदीय समितिलाई ज्ञापनपत्र बुझाइएको छ।
सिटिइभिटी राष्ट्रिय कर्मचारी संगठन, फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स र निजी प्राविधिक शिक्षालय महासंघ नेपालले ज्ञापनपत्र बुझाएका हुन्। वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमतिपछि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’मा सिटिइभिटी अन्तर्गतको स्वास्थ्यतर्फको प्रविधिक प्रमाणपत्र तह हटाउने बुँदा समावेश गरेको उल्लेख गर्दै तत्काल उक्त बुँदा हटाउन माग गर्दै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीलाई ज्ञापनपत्र बुझाइएको हो।
बुधबार बिहान समितिको कार्यालय सिंहदरबारमा बुझाइएको ज्ञापनपत्रमा सो बुँदा दुरदराजमा बसेर जनताको सेवा गरिरहेका मध्यस्तरका जनशक्ति उत्पादन गर्ने संस्थाहरु बर्बाद हुने गरी आएको भन्दै तत्काल हटाउन समिति समक्ष माग गरिएको छ। स्वास्थ्यतर्फका ९ हजारभन्दा बढि सिएमए, अनमी र ल्याबका जनशक्तिको भविष्य बर्बाद हुने गरी समितिले सो विधेयकमा ती बुँदा उल्लेख गरेकाले हटाउन समितिको ध्यानाकर्षण गराइएको निजी प्राविधिक शिक्षालय महासंघ नेपालका सचिव भुवनचक्र जोशीले जानकारी दिए।
उक्त निर्णय तत्काल नहटाए आमरण अनसन बस्न बाध्य हुने चेतावनी पनि उनले दिए। गोविन्द केसीको चपेटामा परेर राज्यले करोडौं लगानी गरेका मध्यस्तरका जनशक्ति निर्माण गर्ने स्वास्थ्य शिक्षालयहरु बर्बाद गर्न नपाउने उनीहरुको माग छ।
यता, समितिकी सभापति घर्तीले भने एकैचोटि सिटिइभिटी अन्तर्गत स्वास्थ्यतर्फको प्राविधिक प्रमाणपत्र तह फेज आउट गर्ने बुँदा विधेयकमा नराखिएको र समिति त्यसो गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।