कृष्णनगर- मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआई नेपाल कपिलवस्तुले सीमा नाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३ सय ६१ महिलाको उद्धार गरेको छ।
सो संस्थाले तीन वर्षको प्रतिवेदन सार्वजनिक गर्दै उक्त अवधिमा १२ हजार ४ सय ६७ जनासँग सीमा नाकामा परामर्श गरिएको जनाएको छ। २ सय २६ महिलालाई आपतकालीन सुरक्षित आवास सेवा प्रदान गरिएको सो संस्थाका जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिए। 'तीस महिलालाई उद्धारपश्चात् चितवनस्थित सुरक्षित आवास गृहमा राखिएको छ,' उनले भने।
इलाका प्रहरी कार्यालय कृष्णनगरमा दर्ता भएका ९ मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मुद्दामा १४ प्रभावितले ११ विचौलियाविरुद्ध किटानी जाहेरी दिएका थिए।
जिल्ला अदालत कपिलवस्तुले ७ मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मुद्दामा अभियुक्तलाई जेल सजायको फैसला सुनाएको थियो। केआई नेपाल शाखा कार्यालय कपिलवस्तुका अनुसार तीन वर्षको अवधिमा १५ देखि २५ वर्ष उमेर समूहका महिला बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ।
आर्थिक अभाव, अशिक्षा, बेरोजगारी, प्रविधिको दुरुपयोगलगायत कारण महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।