काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मंगलबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
लेखापाल ढकालले परिषदमा रहँदाको अवधिमा तलबी भरपाईको जोडजम्मामा फरक पारी २४ लाख ४६ हजार २ सय २१ भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
आर्थिक वर्ष २०७२/०७३ मा लेखापरीक्षण हुँदा लेखापाल ढकालले भ्रष्टाचार गरेको खुलेको हो।
परिषद् सचिवालयबाट उनी हाल खनियाबास गाउँपालिकाको कार्यालय, दार्खा, धादिङ्गमा कार्यरत रहेका छन्। सचिवालयमा कार्यरत रहँदा सरकारी रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी बदनियतसाथ उनले सो रकम झिकी हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
सरकारी रकम दुरुपयोग गरी निजी प्रयोगमा लगाएको भन्दै अख्तियारले ढकाललाई भ्रष्टाचार निवारण ऐन अनुसार बिगो र जरिवाना गर्न माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।