काठमाडाैं- माघ २६ गते स्याङ्जाको पुतलीबजारमा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता आयोजना हुने भएको छ।
‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ भन्ने मूल नाराका साथ सो प्रतियोगिता आयोजना गर्न लागिएको हो। सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा ‘क्रस कन्ट्री’ दौड प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाका प्रमुख सल्लाहकार एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका युथ कोअर्डिनेटर लालबहादुर गुरुङले जानकारी दिए।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले ग्रामिण स्तरमा पनि राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने सूचना प्रवाह गर्न पनि सो प्रतियोगिता आयोजना गर्न लागिएको स्पष्ट पारे। प्रतियोगिताबाट ग्रामिण क्षेत्रमा पर्यटनको विकास हुने अपेक्षा गरिएको छ।
प्रतियोगिता भएको स्थानमा साइकल रुट निर्माण गरी साइकिलिङ गर्ने, स्विमिङ पुल निर्माण गरी प्रतियोगिताहरु आयोजना गर्ने र प्याराग्लाइडिङको सम्भाव्यतासमेत अध्ययन गर्ने योजना पनि संस्थाले तय गरेको छ। गुरुङले उक्त प्रतियोगिताको उद्धघाट्न युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने पनि जानकारी दिए।
क्रस कन्ट्री दौड प्रतियोगिता २१ वर्ष मुनिकालाई १४ किलोमिटर तय गरिएको छ भने खुला प्रतियोगिता ३१ किलोमिटरको हुनेछ। पुतलीबजारको बराहचौरबाट सुरु हुने प्रतियोगिता शुक्ला गण्डकी, बिरुवा हुँदै पुतलीबजारमै आएर समापन हुने पनि संस्थाका प्रमुख सल्लाहकार गुरुङले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने २१ वर्ष मुनिका समूहलाई २० हजार, द्धितियलाई १५ हजार र तृतियलाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ भने खुला समूहको प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, द्धितियलाई ४० हजार र तृतियलाई ३० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।