काठमाडाैं- अस्थायी र करारमा कार्यरत शिक्षकहरुले आफूहरुको रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै सरकारलाई दबाब दिन सुरु गरेका छन्।
अस्थायी, करार शिक्षक संघर्ष समितिले मंगलबार भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएर आफूहरुको रोजगारीको ग्यारेन्टी गर्न सरकारलाई दबाब दिन सुरु गरेका हुन्।
रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्थाअनुसार आफूहरुलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न माग गर्दै सरकारलाई दबाब दिन सम्बन्धित निकायमा धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गरिएको संघर्ष समितिका संयोजक हेमनाथ चौंलागाईंले जानकारी दिए। संघर्ष समितिले विगतमा गरिएको सहमतिअनुसार आफूहरुलाई आन्तरिक परीक्षाबाटै स्थायी गराउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
अस्थायी तथा करारमा रहेका शिक्षकहरुले आफूहरुलाई स्थायी गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पटक-पटक ज्ञापन पत्र बुझाएका छन्। फेरी एक पटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेर माग सम्बोधन गराउन आग्रह गर्ने उनीहरुको योजना छ।
आफूहरुको माग सम्बोधन नभएसम्म सम्बन्धित निकायमा धर्नालगायतका आन्दोलनको कार्यक्रम जारी राख्ने पनि संघर्ष समितिका संयोजक चौंलागाईंले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।