जनकपुर- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अब आउने चुनावमा नेपाली कांग्रेस पुनः पहिलो पार्टी नै हुने दाबी गरेका छन्। उनले दुई/चार वटा कम्युनिष्ट पार्टी मिल्नु एउटा कारण हुनु भन्दा पनि कांग्रेसभित्रको आन्तरिक विवादले गर्दा गएकाे चुनावमा कांग्रेस चुकेको बताए।
रेयुकाई एईको मासुनागा आँखा अस्पताल काठमाडाैंद्धारा धनुषाको ढल्केवरमा निर्माण गरिने शाखा भवनको साेमबार शिलान्यास तथा अस्थायी आँखा उपचार केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले कांग्रेसको भविष्य राम्रो रहेको दाबी गरे। उनले कांग्रेसलाई अझ राम्रो पार्न एकजुट भएर अगाडि बढ्न कार्यकर्तालाई सुझाव दिए।
उनले भने, ‘प्रदेश २ मा नेपाली कांग्रेसका कार्यकर्ताको काँधमा ठूलो जिम्मेवारी छ र यस्तै जिम्मेवारी महान्त्रीको हैसियतले ममाथि पनि छ, प्रदेश २ मा नेपाली कांग्रेस एकबद्ध भएर अगाडि बढ्नुपर्छ।’
उनले पार्टी भित्रको गुट/उपगुट समाप्त पार्नुपर्ने कुरामा जोड दिँदै महामन्त्री कोइरालाले भने, ‘महाघिवेशनको समयमा गुट/उपगुट हुनु स्वाभाविकै हो तर त्यसपछि पनि गुट/उपगुटमा विभाजन हुनु हुनुभएन।’
कोइरालाले धनुषाको मिथिला नगरपालिका ढल्केवरमा बन्न लागेको आँखा अस्पतालको शिलान्यास गर्दै ढल्केवर आँखा उपचारको हब बन्ने बताए। ‘नेपालमा आँखा उपचारका ठूलाठूला अस्पताल थुप्रै बने तर पनि समस्या बाँकी नै छ। यहाँ बन्ने अस्पतालमा नेपालीलाई मात्र नभएर भारतीय नागरिकलाई पनि सुविधा पुग्छ’, उनले भने।
स्थानीय समाजसेवी राजाराम महतोले उपलब्ध गराएको ६ कठ्ठा जग्गामा सुविधासम्पन्न आँखा अस्पताल निर्माण गरिने संस्थाका अध्यक्ष मधु आचार्यले बताए।एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण हुन लागेको आँखा अस्पतालमा आँखा रोगका विशेषज्ञ टोली रहने र आँखाका सम्पूर्ण उपचार सेवा उपलब्ध गराउने आचार्यले जानकारी दिए।
उनले अस्पताल निर्माणका लागि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट ठोस सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा जग्गादाता महतोलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा अस्ट्रेलियाली राजदूत पिटर पथ, डोली इन्टनेट संस्थाका अध्यक्ष स्कोट ह्यामिल्टन, नगरप्रमुख हरिनारायण महतो, अस्पताल परियोजनाका कल्याण सिलवाल, असारे श्रेष्ठ, विभूति चनु ठाकुर र नरेशचन्द्र भट्टले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।