काठमाडौं- कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आज दोस्रोपटक कांग्रेसले अवरोध गरेको हो।
अबको बैठक माघ ८ गते मंगलबार बस्नेछ।
नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालको नाममा रहेको अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै त्यो नसच्याएसम्म संसदको कारबाही अघि बढ्न नसक्ने भन्दै कांग्रेसले आजै पहिलोपटक संसद अवरुद्ध अवरोध गरेको थियो। अवराेधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएकाे भनिए पनि आधा घन्टाभन्दा बढी स्थगित गरिएको थियो।
पुन: सुरु भएको बैठकमा सुरुमै कांग्रेस सांसद्हरु उठेर विरोध जनाएका थिए। सभामुख कृष्णबहादुर महराले आजको कार्यसूचीमा रहेका अरु विषय हटाएर चिकित्सा शिक्षा विधेयकलाई अघि बढाउने भनेपछि कांग्रेस सांसदहरु सहमत हुन सकेनन्। उनीहरु नबसेपछि उनले बैठक स्थगित गरे।
कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संघीय ससकारले जिम्मा नलिई प्रदेश सरकार मातहत राख्ने निर्णय गरेको भन्दै बैठककाे सुरुमै आपत्ति जनाएका थिए।
त्यस्तै उनले अनसनरत डा गोविन्द केसी भोक हड्तालमा रहेको भन्दै केसीसँग यसअघि भएका सहमति लागू गर्न माग सरकार समक्ष गरेका थिए। तत्कालीन शेरबहादुर देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा सम्बन्धी अध्यादेशअनुसार विधेयक ल्याउनुपर्ने उनले माग गरे।
डा. केसीको जीवन रक्षाको माग गर्दै उनले यी दुई निर्णय सकारले नसच्याए संसदका कामकारबाही अघि नबढ्ने घोषणा गरेपछि सभामुख महराले बैठक १५ मिनेटका लागि स्थगित गरिएकाे घाेषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।