काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यले मासिक तलबभत्ता पाउने भएका छन्।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को हालै बसेको कार्यसमिति बैठकले महिला टोलीलाई मासिक रु सात हजार तलब र रु तीन हजार भत्ता उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिए। यसअघि राष्ट्रिय महिला टोलीले तलब र भत्ता पाउने गरेका थिएनन्।
एन्फाले ओलम्पिक महिला फुटबलका लागि एशियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय टोलीलाई नगदसहित सम्मानित गर्ने निर्णयसमेत गरेको छ। एन्फाको कार्यसमिति बैठकले महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजारबाट सम्मानित गर्ने निर्णय गरेको प्रवक्ता राईले जानकारी दिए।
म्यानमार गत कात्तिकमा सम्पन्न पहिलो चरणको एशिया छनोटबाट नेपालले दोस्रो चरणका लागि स्थान पक्का गरेको थियो। सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि भएको छनोटमा नेपालले तीन खेलमा बराबरी खेल्दै दोस्रो चरणमा स्थान पक्का गरेको थियो। यो नेपाली महिला फुटबलको ऐतिहासिक सफलता हो
यस्तै एन्फाले एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली टोलीलाई जनही रु २५ हजारबाट सम्मान गर्ने निर्णय गरेको छ। गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो। नेपालले भारत र पाकिस्तानलाई पराजित गर्दै उपविजेताका रुपमा दोस्रो चरणमा प्रवेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।