इनरुवा : मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।
इनरुवा–१ स्थित खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो। इनरुवा नगरपालिका र शान्ति दीप नेपाल सुनसरीको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो।
विजेता टोली त्रिभुवन आर्मीले रु चार लाख एक हजारसहित ट्रफी हात पारेको छ। पुलिसले उपविजेतामा चित्त बुझाउँदै रु दुई लाख एक हजार प्राप्त गरेको छ।
जीतका लागि २५० रनको लक्ष्य दिएको आर्मीले नेपाल पुलिस क्लबलाई १६६ रनमा अलआउट पार्दै उपाधि हात पारेको हो।
टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा आठ विकेटको क्षतिमा २४९ बनाएको थियो। आर्मीका लागि राजेश पुलामीले अर्धशतकीय पारी खेल्दा कुशल मल्ल भने अर्धशतक बनाउनबाट एक रनले चुकेका थिए। टोलीका लागि पुलामीले ६९ रन बनाउँदा मल्लले ४९ रन बनाएका थिए। पुलिसका दीपेश श्रेष्ठले तीन तथा रामनरेश गिरीले दुई विकेट लिएका थिए।
खेलको ४२ दशमलव पाँच ओभरमा अलआउट भएको पुलिसका लागि योगेन्द्र सिंह कार्कीले ५१ रन जोडे पनि टोलीलाई भने हारको मुखबाट जोगाउन सकेनन्। पुलिसका हिमान्सु दत्तले २९ र अमित श्रेष्ठले २५ रनको पारी खेलेका थिए। पुलिसलाई सस्तैमा समेट्दै टोलीका लागि जीत दिलाउन आर्मीका सहाब आलम र कुशल मल्लले समान तीन–तीन विकेट लिएका थिए। फाइनल खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका कुशल मल्ल र अनुशासित टोली प्रदेश नं ७ बन्न सफल भएका छन्।
बेस्ट बलर पुलिसका सागर ढकाल घोषित भएको प्रतियोगिताको बेष्ट ब्याट्सम्यान आर्मीका भीम सार्की बनेका छन्। प्रतियोगिताभर उत्कृष्ट खेलको प्रदर्शन गरेका पुलिसका दिलीप नाथ ‘म्यान अफ दी सिरिज’ भएका छन्। उनले नगद ५१ हजार राशि हात पारे। गत पुस २१ गतेदेखि शुरु सो प्रतियोगितामा ७ प्रदेश, तीन विभागिय, एक भारतीय र एक आयोजक गरी १२ टोली सहभागी रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।