धनुषा– उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रदेश २ को नाम चाँडै नै ‘मधेस प्रदेश’ हुने बताएका छन्।
सिरहाको लहानमा शनिबार प्रदेश २ सरकारले आयोजना गरेको १२औँ बलिदानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले संघीयता, गणतन्त्र र समावेशिता कांग्रेस–कम्युनिष्ट मनले हैन बाध्यताले स्वीकारेको बताए। ‘उनीहरुलाई संघीय प्रणाली टाउकोमा लादेको महसुस भइरहेको छ,’ उनले भने, ‘आफैंले बनाएको संविधानमा इमानदारिता देखाउँदैनन्।’
मन्त्री यादवले संविधानमा सबै वर्ग तथा समुदायले स्वीकार गर्ने किसिमले ंसंशोधन हुनुपर्ने बताउँदै उनले संविधान संशोधन नभए संघर्षमा जाने चेतावनी दिए।
मन्त्री यादवले सरकारमा गएको विषयमा समेत स्पष्ट पार्दै भने, ‘धेरैले भन्ने गर्छन् सरकारमा गयो, तर आफूहरु संविधान संशोधन कै लागि मत दिएको र सरकारमा गएका छौँ, बहुमतले दुई तिहाइको सरकार बनेको छ, संविधान संशोधनका लागि पनि दुई तिहाई चाहिन्छ, त्यसैले सरकारमा गएका हौं।’
उनले अहिले प्राप्त अधिकारलाई संस्थागत गर्दै बाँकी अधिकार प्राप्तिका लागि संघर्ष गर्दै जाने बताए। मन्त्री यादवले भने, ‘प्रदेश सरकारसँग अधिकार, जनशक्ति र श्रोतसाधन सीमित छ, कसरी काम गर्छ?, प्रदेशलाई अधिकार दिनुपर्छ, प्रदेश २ अगाडि बढेमात्रै संघीय गणतन्त्र संस्थागत हुन्छ।’
उनले सबैको आशा र भरोसा प्रदेश २ माथि रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।