काठमाडौं– विभागीय क्लब नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ।
शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा पुलिसले थ्री स्टार क्लबलाई १–० ले पराजित गर्यो। पुलिसको जितमा एकमात्र गोल अभिषेक रिजालले गरे। खेलको ६४औं मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नरलाई अभिषेक रिजालले गोलपोष्टको दिशा दिएका थिए।
जितसँगै पुलिसले २१ लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता थ्री स्टारले भने १० लाख रुपैयाँमा चित्त बुझायो। खेलमा निर्णायक गोल गरेका अभिषेक ‘म्यान अफ द म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे।
विजयी टोलीका प्रशिक्षक अनन्त थापाले अपेक्षाकृत प्रदर्शन नभएपनि उपाधि जित्दा भने खुसी लागेको प्रतिक्रिया दिए। ‘मैदानको अवस्थाका कारण हामीले अपेक्षित प्रदर्शन त गरेनौं। समयमा नै गोल निस्केकाले जित दर्ता गर्न सफल भयौं,’ उनले भने, ‘लिगको प्रदर्शन बिर्साउन मोफसलको प्रतियोगिता जित्ने लक्ष्य थियो। अब अन्य प्रतियोगितामा पनि यसैअनुसार अगाडि बढ्नेछौं। मोफसलको प्रदर्शन अर्को लिगको तयारीको आधार हुनेछ।’
विधागत उत्कृष्टतर्फ पनि पुलिसका खेलाडीहरुको नै वर्चश्व रह्यो। उत्कृष्ट प्रशिक्षकमा पुलिसका थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी घोषित भए। उत्कृष्ट मिडफिल्डर थ्री स्टारका विक्रम लामा घोषित हुँदा उदीयमान खेलाडी सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका भरत टमाटा चुनए।
प्रतियोगिता अवाधिभर ३ गोल गरेका पुलिसका तिर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए। व्यक्तिगत विधातर्फका सबै विजेताले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।