काठमाडौं– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्र्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले अनसनरत डाक्टर गोविन्द केसीसँग गरेको सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्रजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
डा लोहनीले प्रधानमन्त्री आफैंले सहमति गरेर कार्यान्वयन गर्ने समयमा ‘संसदमा गइसकेको छ, मेरो केही जिम्मेवारी छैन’ भन्नु गलत भएको टिप्पणी गरे।
शनिबार रिपोर्टर्स् क्लबको साक्षात्कारमा अध्यक्ष लोहनीले ‘प्रतिबद्धता जाहेर गर्दा हस्ताक्षर गर्ने अनि कार्यान्वयन नगर्ने भन्दै कसको स्वार्थका लागि यो सरकारले काम गरिरहेको छ?’ भनि प्रश्न गरे। दुई तिहाईको सरकारले आफ्नो एजेण्डालाई संसदबाट पास नगराउनु दुःखद भएको उनले बताए। सरकारले सहमति गरेकाले डाक्टर केसीको माग सम्बोधनको विषय सरकारी एजेण्डा नै बनिसकेको भन्दै उनले कुनै पनि अवस्थामा कार्यान्वयन हुनुपर्नेमा आफ्नो पार्टी रहेको प्रष्ट पारे।
उनले वाइडबडी विमान खरिद प्रकरणमा सरकारकै मन्त्रीले संसदलाई ढाट्ने काम गरेको भन्दै संसदको सर्वोच्चता र गरिमालाई आफू अनुकूल व्याख्या नगर्न पनि सरकारलाई चेतावनी दिए।
लोहनीले दुई तिहाईको नाममा भ्रष्टाचारको दलदलमा फसेको सरकार अनैतिकता र दलाल पूँजीवादतर्फ उन्मुख भएको भन्दै यस्तै अवस्था रहीरहे अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रमा नेपाल कालोसूचीमा पर्ने दाबी गरे।
उनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने र अपराधमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।