थाइल्यान्ड- थाइल्यान्ड वुमन्स टी–२० स्म्यासमा नेपाल पराजित भएको छ।
आयोजक थाइल्यान्डसँग आज भएको फाइनलमा नेपाल ७० रनले पराजित भएको हो। पराजयसँगै सिनियर महिला क्रिकेटको पहिलो उपाधि जित्ने नेपालको लक्ष्य पूरा भएन।
१२२ रनको लक्ष्य पछ्याएको नेपाल १७ दशमलव २ ओभरमा ५१ रन बटुलेर अलआउट भयो।
पहिलो ओभरमै ओपनर काजल श्रेष्ठलाई गुमाएको नेपालले दोस्रो ओभरमा इन्दु बर्मालाई पनि गुमाएपछि धक्का लाग्यो। नेरी थापा र सीता रानामगरले मात्रै दोहोरो अंकको रन जोडेका थिए। नेरीले १७ र सीताले १३ रन जोडे।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको थाइल्यान्डका लगि तात्थम चाङथनले ६९ र तरुमल थाइवाइले २७ रन ल्याइन्। निर्धारित ओभरमा १ विकेटको क्षतिमा थाइल्यान्डले १२१ रन बनाएको थियो।
नेपालले समूह एबाट विजेता बन्दै अन्तिमा ४ मा स्थान पक्का गरेको थियो। थाइल्यान्ड भने समूह बीको विजेता हो।
शुक्रबार इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाली महिला टिम फाइनलमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।