काठमाडौँ- निर्वाचन आयोग नेपालले सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा सङ्लग्न व्यक्तिको नयाँ मर्यादाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगका पदाधिकारीको शुक्रबार बसेको पूर्ण बैठकले सो मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीलाई उक्त निकायका प्रमुखको लगत्तै पछाडि कायम गर्न गराउन आग्रह गर्ने निर्णय गरेको छ।
आयोगले संवैधानिक संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम सरकारका कर्मचारीभन्दा धेरै तल राखिनुले संवैधानिक पदको अपमान मात्र हुने नभई समग्रमा संवैधानिक निकायको संस्थागत गरिमा तथा मान–मर्यादामा समेत आँच आउने ठहर गरेको छ।
मर्यादाक्रम निर्धारण गर्दा संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रिया, सङ्घीय संरचनामा संवैधानिक निकायको भूमिका तथा कार्यक्षेत्र, अन्तर्राष्ट्रिय प्रचलन र परम्परा एवं प्रचलित कानुनलाई आधार मान्नुपर्ने जनाएको छ।
सरकारले हेरफेर गरी निर्धारण गरेको मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम उक्त निकायका प्रमुखको मर्यादाक्रमको लगत्तै पछाडि कायम गर्न गराउन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।