कञ्चनपुर– तेस्रो अधिवेशनमा छलफलका लागि प्रदेश सभा सचिवालयमा दर्ता गराएको एक विधेयक सुदूरपश्चिम सरकारले फिर्ता गरेको छ।
प्रदेश सभा सचिवालयमा सरकारका तर्फबाट दर्ता भएको 'प्रदेश सभा सञ्चालन सम्बन्धी विधयेक २०७५' शुक्रबार सुरु भएको अधिवेशनको पहिलो बैठकमा छलफल हुने गरी पेस भएको थियो। तर, सरकारले आवश्यक संशोधनका लागि भन्दै फिर्ता गरेको हो।
प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिले शुक्रबारको बैठकमा सो विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची तय गरेको थियो। तर, सरकारले शुक्रबार बिहान मात्रै विधेयक फिर्ता लगेपछि अन्तिममा आएर विधेयक पेस गर्ने संसद्को कार्यसूचीबाट हटाइएको थियो।
विधेयक फिर्ता भएपछि प्रदेश सभामा छलफलका लागि एक मात्र विधेयक बाँकी छ। बजेट अधिवेशनमै दर्ता भएको सहकारी सम्बन्धी विधेयक प्रदेश सभामा पेस भई छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ।
सामाजिक विकास समितिले सो विधेयकमाथि विज्ञहरूको राय लिन माघ ८ गते विज्ञसित छलफलका लागि समय तोकेको छ।
माघ ११ गतेसम्म संशोधनसहित विधेयक प्रदेश सभा सचिवालयमा फेरीिदर्ता गर्ने सरकारको तयारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।