काठमाडौं– हट्टाकट्टा खाइलाग्दो ज्यान। गोलो चेहरा। हँसिलो अनुहार।
आजभन्दा चार वर्षअघि यस्तै देखिन्थे, रुपन्देहीका ३८ वर्षे आकाश गुरुङ। सिद्धार्थनगर नगरपालिका–१ का बर्मेली टोलका उनी वैदेशिक रोजगारीमा कोरिया हान्निए। दस नंग्रा खियाए। राम्रै आम्दानी गरेर स्वदेश फर्किए।
घर गएर परिवारसँगै जीवन बिताउँछु भनेर आएका उनी सानोतिनो व्यापार गर्न थाले।
कोरियाबाट फर्किएपछि जसोतसो उनको जीवन बित्दै थियो। तर, एकाएक उनको सपनाले १ सय ८० डिग्रीको फन्को मार्यो।
त्यो दिन थियो २०७१ भदौ २८ गते।
फ्ल्यासब्याक
बिहान साढे ८ बजे। उनी आफ्नो घरबाट बजार जान भनी निस्किए। त्यसको ८ मिनेटपछि आकाशको मोबाइल नम्बर ९८१७४२६२... मा आमाले फोन गर्दै सोधिन्, ‘बाबु कहाँ छस्?’
‘घर नजिकै छु आमा। केहीबेरमै आउँछु,’ आकाश जवाफ फर्काउँछन्।
छोरो फर्केला कि भनेर कुर्दाकुर्दै आमाका आँखा टट्याउँछन्। रात छिप्पिँदासम्म आकाशको आगमन नहुँदा परिवार निराशाको भुमरीमा फस्छ।
भोलिपल्ट २०७१ को भदौ २९ गते।
दिउँसो ४ बजेर ८ मिनेटमा आकाशले आमाको मोबाइल नम्बर ९८४७०३९४... मा फोन गर्दै भन्छन्, ‘आमा म पाल्पा छु। घर आउँदै छु।’
अचानक छोरोको आवाज सुनेपछि आमा ढुक्कको सास फेर्छिन्।
तर, त्यसदिन पनि आकाश घर फर्किएनन्।
आमाको अनुहार औंसीको रातझैं बन्न थाल्छ। छोरो कहाँ गयो होला? घर आउँछु भन्दै किन नआएको होला? के खायो होला? कहिले फर्किन्छ होला? उनको मनमा प्रश्नको चाङ थुप्रिन थाल्छ। छोराको चिन्तामा तड्पिएकी आमा ओछ्याउनमा पल्टिन खोज्छिन्। तर आँखामा निद पर्दैन।
मध्यरातको त्यो कल!
परिवारका सबै सदस्य आकाशको खोजीमै थियो। बेलाबेला फोन सम्पर्क भए पनि त्योभन्दा बढी अत्तोपत्तो थिएन, आकाशको। फोनमा कुराकानी भएकाले परिवार केही हदसम्म त ढुक्क थियो। हुर्किएको छोरो। देश विदेश पुगेर आएको मान्छे। कतै साथीको तिर गएको होला भन्ठानेर तै चित्त बुझाउन बाध्य हुन्छन्।
आकाश बेपत्ता भएको दुई दिनपछि।
भदौ ३० गते राति १२ बजेर २७ मिनेट ३३ सेकेन्डमा आमाको मोबाइलको घन्टी बज्छ। ००९१८९५३१७४५९७ नम्बरको भारतीय नम्बरबाट आएको फोन उनी रिसिभ गर्छिन्।
‘तेरो छोरो हाम्रो नियन्त्रणमा छ। छोरो सकुशल चाहिन्छ भने १ करोड तुरुन्त दिनु, 'हिन्दी लबजमा नेपाली भाषा बोल्ने अपरिचित आवाजले भन्छ, 'बाँकी कुरा पछि गरौंला।’
६ मिनेट २ सेकेन्ड धम्कीपूर्ण कुरा गरेपछि फोन काटिन्छ।
यति सुनिसक्दा नसक्दै आमाका नौनाडी गल्छन्। २ दिनपछि परिवारले यकिन गर्न सक्छ- आकाश अपहरणमा परेको। तत्काल उनीहरु प्रहरीमा खबर गर्छन्।
प्रहरीले आकाशको पारिवारिक र व्यक्तिगत अवस्थाबारे जानकारी लिन्छ। अपहरण गर्नु र करोड रुपैयाँ फिरौती माग्नुको कारण र सम्भावनाको विश्लेषण सुरु हुन्छ। भारतीय नम्बर फलो गर्दा पनि प्रहरीले कुनै क्लु फेला पार्न सक्दैन। प्राविधिक अनुसन्धानको पाटोलाई आधार मान्दै आकाश, उनका परिवारका सदस्य, आफन्तहरुको मोबाइल नम्बर, कल डिटेल, एसएमएस लगायतका विवरण प्रहरीले केलाउँछ। तर अनुसन्धानलाई नै जिल खुवाउने गरी गरिएको अपहरणको कुनै नयाँ तथ्य फेला पर्दैन।
आकाशकी आमालाई भारतीय नम्बरबाट गरिएको फोनको समेत कल डिटेल झिकाएर प्रहरीले अनुसन्धान अघि बढाउँछ। यति बुझिसक्दासम्म प्रहरीले आकाशको अवस्थाबारे केही पत्तो पाउँदैन।
तर, सुरुदेखि नै आकाशले आमासँग बोलेका कुराहरु झुट भएको तथ्य निकाल्न भने प्रहरी सफल हुन्छ।
लोकेसन नवलपरासी
घरबाट निस्किएको ८ मिनेटपछि नै आमाले फोन गरेर सोध्दा 'घर नजिकै छु, अब आउँछु' भन्ने जवाफ फर्काएका थिए, आकाशले। प्रहरीले उनी अपहरणमा परेको सूचना पाएपछि सुरुदेखिकै आकाशको मोमेन्टको अनुसन्धान गरेको थियो। आमा र छोराको कुरा भएको बेला उनले घर नजिकै भएको बताएका थिए । कलवाइज लोकेसनले उनी घर नजिकै बजारमा रहेको देखाएको थियो।
त्यसको भोलिपल्ट आकाशले आमालाई फोन गर्दै आफू पाल्पा भएको बताएका थिए।
तर, प्रहरी अनुसन्धान र कलवाइज लाकेसनले आकाश त्यसबेला नवलपरासीको सरावल भन्ने ठाउँमा देखाएको थियो।
आफू एक ठाउँमा हुँदा किन आमालाई अर्को ठाउँको लाकेसन दिँदैछन् आकाश? यो प्रश्न अनुसन्धानमा खटिएको प्रहरीसामु गम्भीर भएर तेर्सिन्छ। 'छोरो अपहरणमा परेको भनेर फोन गर्नु र लोकेसन पनि गलत देखिनुले आकाश अपहरणमै परेका हुन् भन्नेमा हामी विश्वस्त थियौं,' अनुसन्धानमा संलग्न एक प्रहरी सुनाउँछन्।
कृष्णसँगको कनेक्सन
आकाश अपहरणमा परेको र १ करोड फिरौती माग गरिएको सूचना आएपछि ठूलो संख्यामा प्रहरी टोली परिचालन गरिएको थियो।
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको (सिआइबी) टोली, तत्कालीन पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराको विशेष टोली, अञ्चल प्रहरी कार्यालय लुम्बिनीको बिशेष टोली, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा जिल्ला प्रहरी कार्यालय नवलपरासीको अनुसन्धान टोली संयुक्त रुपमा खटिएको थियो।
प्रहरी टोली अनुसन्धान क्रममा प्राविधिक पाटाहरुलाई सूक्ष्म रुपमा केलाउँदै थियो। आकाश घरबाट निस्किएको केही समयमै उनले ९८१४४१९९... नम्बरको मोबाइलमा सम्पर्क भएको प्राविधिक टोलीले पत्ता लगायो। यसपछि भने अनुसन्धानको एउटा खुड्किलोमा प्रहरी पुग्न सक्यो।
९८१४४१९९... नम्बरमा आकाशले फोन गरेको व्यक्ति प्रहरीलाई पत्ता लगाउनु थियो। आकाशले फोन गरेका ती व्यक्ति अन्तत: पत्ता लागे। उनी थिए, सफिक मुसलमान।
सफिकसँग कुरा भएको केही समयमै आकाशलाई ९८१७४५७५... नम्बरबाट फोन आउँछ। प्रहरीले उनको पनि पहिचान फेला पार्छ। ती व्यक्ति थिए, यादव कुँवर।
सफिक र यादवसम्म पुगेपछि आकाशसँग उनीहरुको सम्बन्ध केलाउनु थियो प्रहरीलाई। अनुसन्धानले पत्ता लगायो, तीनै जना मिल्ने साथी रहेछन्।
सफिक र यादव वैदेशिक रोजगारीमा विदेश जान चाहेका व्यक्ति हुन्। उनीहरुलाई आकाशले एजेन्टको काम गर्ने कृष्ण भट्टराईसँग भेट गराएका थिए।
मोहमद सफिक मुसलमान
सफिकले आफ्नो छोरो मिराजलाई विदेश पठाउन भन्दै ४ लाख र यादवले १ लाख रुपैयाँ एजेन्ट कृष्णलाई दिएका थिए। रकम पाएपछि कृष्ण भने सम्पर्कविहीन भए।
उनी बेपत्ता भएपछि सफिक र यादवको आँखाको तारो बन्न थाले, आकाश। ‘तैंले चिनाएको मान्छेले पैसा खाएर भाग्यो। उसलाई बुझाएको पैसा तैंले तिर्नुपर्छ,' फोन वा भेटमा आकाशलाई दुवैबाट दिनहुँजसो धम्की आउन थाल्यो, 'कहाँबाट ल्याएर तिर्छस्, छिटो हाम्रो पैसा फिर्ता गर्।’
पछिल्लो समय छोरीको बिहे भएकाले १० हजार भए पनि दिनुसम्म भनेका थिए सफिकले।
ओम गुरुङ पनि त्यस्तै व्यक्ति हुन्, जसले आकाशमार्फत नै वैदेशिक रोजगारीका लागि कृष्णलाई ६ लाख बुझाएका थिए। ओमले पनि उक्त रकम फिर्ता नगरे ज्यानै मार्नेसम्मको धम्की आकाशलाई दिन थाले।
यता पारिवारिक र व्यक्तिगत पृष्ठभूमिबाट केही क्लु पाएको प्रहरीले ओमको मोबाइल नम्बरको समेत अनुसन्धान थाल्यो। ‘आकाशको मोबाइल एसएमएसको अध्ययन समेत हामीले गरेका थियौं। जहाँ पैसाको कुरा हुने गरेको र अन्तत: त्यसैको रिसिबीको कारण अपहरण भएको पत्ता लाग्यो,' एक प्रहरीले भने।
वैदेशिक रोजगारीबाट फर्किएर एजेन्ट काम गरेकै कारणबाट सम्बध्न बिग्रिएर उनको अपहरण भएको प्रहरी निष्कर्ष निस्कियो।
आइएमइआई नम्बरबाट खुलेको त्यो रहस्य!
आकाशले बोकेको मोबाइलको कभर घरमै थियो। जहाँ ३५६८१४०४१३२७३०९ आइएमइआई नम्बर उल्लेख थियो। उक्त नम्बर अनुसन्धानको अर्को महत्वपूर्ण प्रमाण प्रहरीलाई बन्यो। उक्त नम्बरमार्फत नै पत्ता लाग्यो, आकाशले मोबाइलमा ९८१२९१३९... नम्बरको सिम प्रयोग गरेका रहेछन्। उनी घरबाट निस्केको दिन भदौ २८ गते बिहान ११ बजेर १२ मिनेट ४७ सेकेन्डमा पनि आकाशले यही नम्बरबाट घरमा सम्पर्क गरेका थिए।
तर, उक्त नम्बर राजेश गुरुङको नाममा दर्ता थियो। राजेशकै नाममा अर्को सिम ९८०५४७१२.. नम्बर पनि दर्ता भएको अनुसन्धानको क्रममा खुल्यो। आकाशको मोबाइलमा राजेशका यी दुवै नम्बर प्रयोग हुने गरेको देखियो।
आकाशको मोबाइलमा अर्कै सिम हालेपछि प्रहरीले अपहरणकारीले नै त्यो गरेको हुन सक्ने अनुमान गरेको थियो। आकाशले बोक्ने उक्त नम्बरबाट सफिक र यादवसँग समेत कुराकानी भएको थियो। अपहरणकारीले नै पूर्वयोजना अनुसार यो सबै गरेको हुन सक्ने प्रहरीले विश्लेषण गरेको थियो।
यतिन्जेलमा सफिक पनि घरबाट बेपत्ता भएका हुनाले घटनामा उनको संलग्नता हुन सक्ने प्रहरीले आधार भेट्टायो।
उता आकाशको नम्बर बन्द हुनु र त्यही समयमा राजेशको नाममा दर्ता भएको नम्बर आकाशको मोबाइलमा प्रयोग हुनुले यसमा राजेशको हात हुन सक्ने विश्लेषण पनि प्रहरीको थियो।
तर, यतिन्जेलको अनुसन्धानमा पनि आकाशलाई अपहरण गरेर कहाँ राखिएको छ भन्नेसम्म भेउ प्रहरीले पाएको थिएन।
यादव भन्दै थिए ‘अपहरणकारीलाई जतिसक्दो छिटो पैसा दिनुपर्छ’
प्रहरीले अनुसन्धान गरिरहे पनि आकाशको नामोनिसानो थिएन। ‘लास नभेटिन्जेल आस’ भनेझैं परिवार यही भरोसामा थियो।
यादव कुँवर
उता अकाशका साथी यादव कुँवर भने उनको घर गएर अपहरणकारीलाई जतिसक्दो पैसा दिएर आकाशको उद्धार गर्नुपर्ने सुझाव दिन्थे। आकाशमार्फत वैदेशिक रोजगारीमा जाने भन्दै एक लाख रुपैयाँ बुझाएका उनीसमेत पछिल्लो समय आकाशप्रति रुष्ट थिए।
यादव असोज १ गते 'अब प्रहरीलाई खबर गर्नुपर्छ' भन्दै घर आएको पीडित परिवारले बताएका छन्। यसले घटनामा कतै यादवको संलग्नता त छैन भन्ने थप शंका प्रहरीलाई उब्जाएको थियो। प्रहरीले सूक्ष्म रुपमा यादवको मोबाइल नम्बरको पनि अनुसन्धान गरेको थियो।
यादवले आफ्नो मोबाइलबाट ९८१२९७५५.. नम्बरको मोबाइलमा भदौ ३० गते र असोज १ गते रिचार्ज कार्डको पिन नम्बर समेत पठाएको प्रहरीले पत्ता लगायो। उक्त नम्बर केदार सहनीको भएको सुइँको प्रहरीले पत्ता लगायो। उनी हातततियार मुद्दामा जेल बसेर छुटेका व्यक्ति थिए। जसबाट प्रहरी झनै सशंकित भएको थियो। अपहरणकारीले आकाशलाई मारी त सकेनन्? सहनीको संलग्नता रहेको पाइएपछि प्रहरीले यसतर्फ पनि अनुसन्धान अघि बढायो।
सहनी केही दिनअघि मात्रै रुपन्देहीको प्रहरी कारबाहीमामारिएका छन्।
यसरी भयो अपहरणको योजना
सफिकले छोरो मिराजलाई वैदेशिक रोजगारका लागि एन्टेलिया पठाउन लागेका थिए भने यादव कुँवर आफै जाने प्रक्रियामा थिए। उनीहरु आकाशमार्फत कृष्णको सम्पर्कमा पुगेका थिए। कृष्ण भागेपछि सफिक र यादवको निसानामा परे, आकाश।
आफ्नो पैसा नउठेपछि सफिकले यसबारे केदार सहनीलाई बताएका थिए। ‘ल ठिक छ। आकाशलाई मसँग भेटाइदिनु, सब पैसा उठाइदिन्छु’ भनेर सहनीले सफिकलाई बचन दिएका रहेछन्।
यसमा सहमत सफिकले अर्को प्रस्ताव राख्छन्, ‘पैसा लिइसकेपछि मान्छे (आकाश) उडाइदिनुपर्छ।’
केदार सहनी
यसमा सहनीले पनि सहमति जनाउँछन्।
त्यहीबाट सुरु हुन्छ आकाशको अपहरण योजना।
पूर्व योजनाअनुसार सफिकले आकाशलाई भदौ २७ गते फोन गर्दै भन्छन्, ‘भोलि परासी जानुपर्यो। अलिकति पैसा जम्मा गर्नुछ। छोरालाई अरु नै देश पठाउनुपर्यो। सँगै जाऊँ है।’
सोही योजना अनुसार भोलिपल्ट भदौ २८ गते परासी जान भन्दै आकाश घरबाट निस्कन्छन्। तर, आकाश आमासँग परासी नभनी बजार पुगेर आउँछु भनी निस्कन्छन्।
त्यसपछि सफिक र आकाश होटल यती प्यालेस छेउको बसपार्कमा भेट हुन्छन्। दुवै बस चढेर परासी पुग्छन्। बुद्ध चोकमा ओर्लन्छन्।
'पैसा लिएपछि उडाइदिनू'
पूर्व योजनाअनुसार केदार सहनीले पठाएका व्यक्ति रामजित हरिजन उनीहरुलाई पर्खेर बुद्ध चोकमा बसिरहेका थिए। कालो रङको हिरोहोन्डा मोटरसाइकलमा बसेका उनी आकाशको प्रतीक्षामा थिए।
रामजितको मोटरसाइकलमा आकाशलाई बीचमा राखेर सफिक पछाडि बसे। मोटरसाइकल परासीको सरावल भन्ने स्थानमा पुगेर रोकियो। जहाँ बायाँतर्फ नहर छ। दायाँ घना उखुबारी।
पूर्वयोजनाअनुसार नै त्यही उखुबारीको छेउमा केदार सहनी र भारतीय मुलका अरु दुई जना बसिरहेका थिए।
उखुबारीको एकान्त स्थान पुर्याएपछि केदार र रामजितले 'अर्काको पैसा खाएर बिचल्ली पार्ने' भन्दै आकाशलाई २ थप्पड हिर्काउँछन्। त्यसपछि मात्रै आकाशलाई लाग्छ, सफिकले आफ्नो पैसा धम्क्याएर उठाउन यहाँ ल्याएको रहेछ!
रामजित हरिजन
आकाशलाई केदारसँग भेट गराएपछि सफिकको काम फत्ते भयो। त्यसपछि रामजितले नै सफिकलाई मोटरसाइकलमा राखेर पुन बुद्ध चोक पुर्याए।
आफू फर्किएपछि केदारलाई फोन गर्दै पुन: सफिकले आदेशपूर्ण भाषामा भनेका थिए, ‘पैसा लिएपछि उडाइदिनू।’
भदौ २८ गते आकाशलाई सहनीको जिम्मा लगाएपछि सफिक तीन दिनसम्म घरमै बसे। चौथो दिन छोरीलाई केटा हेर्ने बहाना बनाएर भारत पसे।
भुताहा जंगल हुँदै धनबहादुरको घरमा बास
सहनीको जिम्मा लगाएपछि पैसा उठ्ने र त्यसपश्चात् आकाश मारिनेमा सफिक ढुक्क थिए। योजना पनि सोही अनुसार बनेको थियो।
केदार, रामजित, र भारतीय मूलका २ गरी चार जना भएर आकाशलाई मोटरसाइकलमा राखेर उखुबारीबाट भुताहाको हरियाली सामुदायिक जंगलमा पुर्याइयो। अब भने आकाश आफू अपहरणमा परिसकेको र बाँच्न सक्ने सम्भावना नभएको देख्न थालिसकेका थिए।
भदौ २८ गते राति ८ बजे उक्त वन समितिका अध्यक्ष देवानन्द सिंह फौजदार र नन्दलाल चौधरीलाई उनीहरुले भेटे। आकाशलाई बन्धक बनाएर राख्ने व्यवस्था गरिदिन उनीहरुले आग्रह गरे।
अध्यक्ष देवानन्दले आफ्नो मीत धनबहादुर दर्लामीको घरमा आकाशलाई राख्ने बन्दोबस्त मिलाइदिए।
अध्यक्ष देवानन्दकै आदेशमा नन्दुलालले नवलपरासीस्थित साबिकको धुर्कोट गाविस–७ अम्बासमा रहेको धनबहादुरको घर पुर्याए। त्यसपछि नन्दुलाल र एक अपहरणकारी मोटरसाइकलमै पुन: भुताहा फर्किए। आकाशको निगरानीमा दुई अपहरणकारी धनबहादुरकै घरमा बसे।
उनीहरुले धनबहादुरको घरमा बास माग्दा 'मोटरसाइकल दुर्घटना भएको' बताएका थिए। अपहरणकारीमध्ये एक जनाको खुट्टामा चोटसमेत भएकाले धनबहादुरले दुर्घटना भएको पत्याएर बास दिएको पछि प्रहरीसमक्ष बताएका थिए।
त्यो रात उनीहरुले धनबहादुरको घरमै बिताए।
'तेरो छोराको अवस्था कस्तो छ भिडियोमा देख्छस्'
छोरा अपहरणमा परेका थाहा नपाऊन् भन्दै भोलिपल्ट भदौ २९ गते ४ बजे आकाशलाई आमासँग कुरा गर्न दिइयो। उनीहरु नवलपरासीको सरावलमा थिए। तर, आफू पाल्पा भएको भन्न लगाए अपहरणकारीले।
भदौ २९ देखि असोज १ गते बिहानसम्म पनि उनीहरु धनबहादुरकै घरमा बसे।
२९ गते केदार सहनी र रामजित हरिजन पसारी बजार गए। मणिराम चाईको पसलमा गएर चिया खाए (मणिराम केदारको फुपूको छोरा हुन्)।
मणिराम चाई
'भूमहीमाथिको जंगलमा मुर्गालाई राखेको र बस्न खान समस्या भएको' केदारले मणिरामलाई सुनाए। केही खाद्यान्न लगेर धनबहादुरलाई पनि दिने योजना अपहरणकारीको थियो। तिनैमध्येका एक जना मोटरसाइकल लिएर भुताहा गई चामल, दाल, आलु, तेल लगायतका खाद्यान्न किनेर धनबहादुरको घर पुगे।
धनबहादुरको घरमा बसेको धेरै दिन भइसकको थियो। त्यही भएर भदौ ३१ गते वनका अध्यक्ष देवानन्द फौजदारले २ जना भारतीय मूलका अपहरणकारीलाई आफ्नो घरमा बस्न दिए। सोही दिन राति साढे १२ बजेतिर आकाशकी आमालाई फोन गर्दै अपहरणकारी भने, ‘छिटो १ करोड ठिक पार्। नभए तेरो छोराको अवस्था कस्तो छ, भिडियोमा देख्छस्।’
सेल्टर परिवर्तन
प्रहरीको अनुसन्धान तीव्र थियो। तर अपहरणकारीको कुनै सुइँको पाउन सकेको थिएन। एकै ठाउँमा बस्दा प्रहरीले थाहा पाउन सक्ने भन्दै अपहरणकारीले ठाउँ सर्ने योजना बनाए।
उनीहरु असोज १ गते बिहान ९ बजे धनबहादुरको घरबाट निस्किए।
आफूहरु हिँडेपछि धनबहादुरको परिवारले प्रहरीलाई खबर गर्ने डर उनीहरुलाई थियो। धनबहादुरको छोरो सुमन भन्ने खेमानसिंहलाई समेत अपहरणकारीले पेस्तोल तेर्स्याउँदै भने, ‘तेरो घरको सबै जनाको बारेमा हामीलाई थाहा छ। यो कुरा कतै लिक भयो भने तेरो परिवार नै खत्तम गर्दिन्छौं।’
यति गर्दा पनि विश्वास नलागेपछि धनबहादुरको छोरा सुमनलाई समेत उनीहरुले सँगै लिएर गए। मोटरसाइकल भने धनबहादुरकै घरमा छाडिएको थियो। त्यहाँबाट उनीहरु २ घन्टा पैदल हिँडेर नवलपरासीको धुर्कोट गाविस–८ लामेधुमारस्थित दानबहादुर दर्लामीको घरमा पुगे।
दानबहादुर पनि धनबहादुरकै छोरा हुन्।
यहाँ भने आकाशको साथमा एक जना अपहरणकारी बसे।
सुमनलाई लिएर एक जना मधेसी मूलका अपहरणकारी धनबहादुरको घर अम्बास फर्किए। त्यहाँ भएको मोटरसाइकल लिएर उनी भुताहातर्फ हान्निए।
दुई वटा पेस्तोल ताकिएको नांगो तस्बिर जब आकाशकी आमाले पाइन्
धनबहादुरको घरबाट मोटरसाइकलमा भुताहातर्फ हान्निएका एक अपहरणकारीलाई केदारले मेमोरी कार्ड दिएर पठाए। तिनै व्यक्ति असोज १ गते राति साढे ८ बजे आकाशको घर सिद्धार्थनगरसिथत बर्मेलीटोल पुगे।
मोटरसाइकलमा गएका उनले घरमा एउटा खाम फालेर फर्किए। खामको एकातिर ‘आकाश गुरुङको म्यासेज' र अर्कोतिर 'म्यासेज अफ आकाश गुरुङ’ लेखिएको थियो।
आकाशको परिवारले भित्र सानो ढुंगा हालिएको खाम फेला पार्यो। भित्र चिठी थिएन। जहाँ मोबाइल फोनमा लाग्ने एक थान मेमोरी कार्ड थियो। अपहरित छोराको नाममा आएको मेमोरी कार्ड मोबाइलमा हालेर जब परिवारले हेरे, एकाएक सन्नाटा छायो। भूकम्प आएझैं उनीहरुको टाउको रिंगाउन थाल्यो।
दुईतिर कसिला हातले पेस्तोल ताकिरहेको। अर्धनंग्न आकाशको भयग्रस्त अनुहार।
एकान्त जंगलमा आकाशको यस्तो तस्बिर देख्दा परिवारका सबै सदस्य स्तब्ध हुन्छन्।
यतिमात्रै होइन, 'अपहरणकारीको माग पूरा गरिदिएर आफूलाई बचाउन' भन्दै आकाशले परिवारलाई सम्बोधन गरेको अडियो पनि थियो साथमा। यो कारुणिक अडियोसमेत सुनिसकेपछि आकाशको परिवार थप विक्षिप्त बन्न पुग्छ। भगवान् पुकार्नुबाहेक उनीहरुसँग कुनै उपाय थिएन।
अनुसन्धानमा खटिएको प्रहरीसमेत अकाशको तस्बिर र आवाज सुनेर झनै सशंकित बन्यो। ‘अपहरण गर्ने। त्यसपछि पनि घरमै ल्याएर यस्तो अडियो र फोटो भएको मेमोरी फाल्ने,’ त्यसबेलाको अनुसन्धानमा खटिएका एक अधिकारीले सुनाए, ‘अपहरणकारीलाई आफू पक्रिन्छु भन्ने डरै नभएको देखिन्थ्यो।’
अपहरणकारीको पञ्जाबाट उम्किएपछि...
आफ्नो ज्यान कसरी हुन्छ बचाउनु थियो आकाशलाई। जति जुक्ति निकाले पनि ५/६ जना अपहरणकारीको पञ्जाबाट फुत्कन सम्भव थिएन। दानबहादुरको घरमा आकाशलाई कुर्न बसेको एक अपहरणकारीको आँखा छल्दै आकाश त्यहाँबाट भाग्न सफल भए। असोज ३ गते दिउँसो ३ बजे भारतीय मूलका एक अपहरणकारी अर्को भारतीय मूलकै मान्छेलाई मोटरसाइकलमा लिएर धनबहादुरको घरमा गए। पहिले बन्धन बनाएर राखिएको ठाउँमै भागेका हुन् कि भन्ने उनीहरुको शंका थियो।
आकाश भागेको झोँकमा अपहरणकारीले धनबहादुरको छोरो सुमनलाई पेस्तोल ताक्दै ‘त्यो मान्छे भाग्यो, तैंले भगाएजस्तो छ’ भन्दै धम्क्याएका थिए।
आकाशलाई कुर्न बसेका एक अपहरणकारीले उनी धुर्कोट गाविस–८ हुक्सेदमाहतर्फ भागेको बताएका थिए। त्यसपछि चारैजना अपहरणकारी आकाशलाई खोज्दै हुक्सेदहतर्फ लागे। साँझसम्म खोज्दा पनि आकाश कतै फेला परेनन्। अन्तत: राति ८ बजेतिर आकाशलाई धुर्कोटबाटै कब्जामा लिन अपहरणकारी सफल भए।
'प्रत्येक दिन तेरो छोराको एउटा अंग काटेर पठाउँछौं'
अपहरणकारीले असोज ३ गते राति साढे १२ बजेदेखि ६ पटकसम्म पुन: भारतीय नम्बरबाट उनकी आमालाई फोन गर्दै फिरौती मागिरहेका थिए। आकाशकी आमाले भनेजति रकम आफूसँग नभएको र ६ लाख रुपैयाँ त्यो पनि तीन दिनपछि मात्रै दिन सक्ने बताएकी थिइन्।
आकाशकी आमाको जवाफ सुनेपछि अपहरणकारीले धम्क्याएका थिए, ‘त्यो ६ लाख छोराको कात्रो किन्न खर्च गर्नू। अब प्रत्येक दिन तेरो छोराको एउटा अंग काटेर पठाउँछौं।’
यति भनिसकेपछि अपहरणकारीले फोन काटे। त्यसपछि सम्पर्क पनि भएन।
'अपहरणकारीले भनेजस्तै गरिदिनु आमा, म छिट्टै फर्कन चाहन्छु'
तावाबाट फुत्केको माछो भुंग्रोमा भनेझैं भागिसकेका आकाश फेरि अपहरणकारीको कब्जामा परिसकेका थिए। जतिसक्दो छिटो गाउँ छाडेर सुरक्षित हुन आवश्यक ठान्दै अपहरणकारीले गाउँ छाड्ने निधो गरे। धनबहादुरको छोरो सुमनलाई लिएर ५ जना अपहरणकारी धुर्कोटबाट अम्बासतर्फ लागे।

करिब ३० मिनेट हिँडेपछि जंगलको एक खोलामा उनीहरुले चाउचाउ खाए। हिँड्ने क्रममा आकाशको शरीरमा अपहरणकारीका बुट पनि बजारिन्थे। सहँदै लुरुलुरु हिँड्नुको विकल्प थिएन उनीसँग। त्यसबेला आकाश एकदमै डराएको सुमनले समेत प्रहरीमा बयान दिएका थिए।
असोज ३ गते बिहान ७ बजेर ५६ मिनेटमा र ७ बजेर ५८ मिनेटमा आकाशलाई आमासँग कुरा गर्न दिएका थिए, अपहरणकारीले। त्यसबेला आकाशले आमालाई भनेका थिए, ‘अपहरणकारीले भनेजस्तै गरीदिनु आमा। म छिट्टै घर फर्कन चाहन्छु।’
धुर्कोट– ८ लामेधुमारको उकालो कटेपछि भुताहा र अम्बास जाने बाटो छुट्टिन्छ। सो स्थानमा पुगेपछि धनबहादुरको छोरा सुमनलाई 'धन्यवाद' भन्दै अपहरणकारीले घर फर्काउँछन्। आकाशलाई लिएर २ अपहरणकारी भने भुताहाको ओरालो लाग्छन्। एक जना भने मोटरसाइकल लिन धनबहादुरको घर जान्छन्। पहिले छाडेको मोटरसाइकल लिएर उनी भुताहातर्फ नै जान्छन्।
आकाशकै मोबाइलबाट ७० वर्षीया वृद्धाको कल
असोज ३ गते बिहान ११ बजे अपहरणकारीलाई सेल्टर दिएका धनबहादुर दर्लामी भुताहाबाट घर अम्बास फर्किंदै थिए। भुताहाको चापागाउँ सकिएर हरियाली सामुदायिक वन सुरु हुने दोबाटो नजिक पर्थ्यो उनको घर। भदौ २८ गतेदेखि असोज १ गतेसम्म आफ्नो घरमा बसेकामध्ये भारतीय मूलका व्यक्तिहरु जंगलबाट झर्दै गरेको अवस्थामा देखेको उनले प्रहरी समक्ष बयान दिएका थिए। तर आकाशलाई भने नदेखेको उनको भनाइ थियो।
त्यसैदिन राति आकाशको मोबाइल नम्बरबाट अर्को एनसेलको नम्बरसँग २ पटक लामो कुराकानी भएको देखियो। यसबारे पनि प्रहरीले अनुसन्धान अघि बढायो।
प्रहरीले खोजी गरेको लोकेसन
आकाश गुरुङले प्रयोग गर्ने सिमकार्ड सहितको फोन नवलपरासीको मनरी गाविस–७ जावास्थित बाटोमा भैसी चराउँदै गरेकी ७० वर्षीया चन्द्रावीत अहिरले असोज ४ गते भेटेकी रहिछन्। उनै चन्द्रावतीले नाति र आफन्तसँग उक्त मोबाइलमार्फत कुरा गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको थियो। यसबाट पनि प्रहरीले आकाशको अवस्थाबारे केही जानकारी पाउन सकेन।
हरियाली जंगलमा जब सडेको लास फेला पर्यो
अपहरित आकाशको खोजीमा प्रहरीले कुनै कसर बाँकी राखेको थिएन। आफूसँग भएजति प्रविधि र दक्ष जनशक्ति प्रयोग गर्दा पनि कुनै तथ्य प्रहरीले जुटाउन सकेको थिएन। यद्यपि खोजी भने जारी थियो।
असोज ११ गते।
बिहान ९ बजे इलाका प्रहरी कार्यालय बर्दघाटमा ९८४७१२९२... नम्बरबाट फोन आउँछ। प्रहरीले फोन उठाउने बित्तिकै भनिन्छ, ‘हरियाली सामुदायिक जंगलमा सडीगलेको अवस्थामा एक पुरुषको लास छ।’
बर्दघाट–१० का जगन्नाथ भुसालले उक्त जानकारी गराएका थिए। पूर्व–पश्चिम राजमार्गभन्दा अन्दाजी ४ किलोमिटर उत्तरमा शव फेला परेको थियो। जंगलमा दाउरा लिन गएका लालबहादुर रानाले देखिपछि गाउँलेलाई बिहान ७ बजे जानकारी गराएका थिए। उनै रानाले सुनाएको सूचना भुसालले प्रहरीलाई दिएका थिए।
यो खबर सुन्नासाथ प्रहरीले लख काटिसकेको थियो, पक्कै आकाशको शव हुनुपर्छ।
सूचनापश्चात् जिल्ला प्रहरी कार्यालय नवलपरासी, जिल्ला प्रहरी कार्यालय रुपन्देही र अनुसन्धान टोली घटनास्थल पुग्छन्।

सडिसकेको वयस्क पुरुषको शव। उत्तानो परेको उक्त शव वरिपरि झारपात पलाइसकेको अवस्थामा प्रहरी फेला पार्छ। छातीको एकापट्टि छाला लुछिएको तथा टाउको र हात कुहिसकेको अवस्थामा रहेको शवको अनुसन्धानमा लाग्छ प्रहरी। पहिले घरमा पठाएको फोटो र नजिकै भेटिएको चप्पलको आधारमा उक्त शव आकाशकै भएको प्रहरीले पुष्टि गर्छ।

परिवारलाई प्रहरीले खबर गरेपछि आकाशको सनाखत हुन्छ। अपहरणमा परेको १५ दिनपछि आकाशको परिवारले उनको शव बुझ्छन्।
फरार छन् अझै तीन व्यक्ति
आकाशको अपहरणपछि हत्यामा संलग्न भएका ५ जनालाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ भने अपहरणमा संलग्न एक जना प्रहरीको कारबाहीमा मारिएका छन्। ३ जना भने अझै फरार छन्।
प्रहरीले अपहरणका योजनाकार केदार सहनीलाई सेल्टर दिने कपडा व्यापारी रुपन्देहीको सिद्धार्थनगर–९ का मणिराम चाई, अपहरणको मुख्य योजनाकार सिद्धार्थनगर–६ गल्लामण्डीका ४१ वर्षीय मोहमद सफिक मुसलमान, अपहरणकारीलाई बन्दोबस्ती, रासन र बस्ने व्यवस्था मिलाउन नवलपरासीको तिलकपुर– १ का ५३ वर्षीय देवानन्द सिंह फौजदार, अपहरणको मुख्य योजनाकार तथा पीडितलाई सफिकसँग चिनजान गराउने सिद्धार्थनगर–९ डाँडागाउँका ३५ वर्षीय यादव कुँवर र आकाशलाई बन्धक बनाउन प्रयोग गरिएको घरसम्म पुर्याउन सहयोग गर्ने नवलपरासी तिलकपुर–१ सालबासका ३६ वर्षीय नन्दलाल चौधरी पक्राउ परिसकेका छन्। विभिन्न मितिमा प्रहरीले उनीहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याइसकेको छ।
अपहरण र हत्याको मुख्य योजनाकार भनिएका सिद्धार्थनगर– ६ गल्लामण्डीका ४२ वर्षीय केदार सहनी केही दिनअघि मात्रै रुपन्देही प्रहरीको कारबाहीमा मारिएका छन्। उनी हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष जेल बसेर छुटेका व्यक्तिसमेत हुन्।
त्यस्तै अपहरण तथा हत्याका अर्का योजनाकार नवलपरासीको रामग्राम नगरपाकिला–४ का ३८ वर्षीय रामजित हरिजन अहिलेसम्म फरार छन्। उनी २०६६ बैसाख ४ गते हातहतियार खरखजना मुद्दामा नवलपरासीबाट पक्राउ परी ४ वर्ष कैद सजाय र ८० हजार जरिवाना तिरेर २०७० बैसाख ४ गते जेलमुक्त भएका व्यक्ति हुन्।
फरार २ जनाको भने अहिलेसम्म पहिचान हुन सकेको छैन। अपहरणकारीलाई सेल्टर दिएको भन्दै प्रहरीले २०७१ असोज ६ गते देवानन्द फौजदारलाई पक्राउ गरेको थियो। उनैले दिएको जानकारी अनुसार अपहरण र हत्या घटनामा एक जना भारतीय मुलको फिरोज भन्ने व्यक्ति र अर्का पनि भारतीय मूलकै रमेश केवट भन्ने व्यक्ति घटनामा संलग्न छन्। उनीहरुबारे योभन्दा बढी जानकारी प्रहरीसँग छैन। उनीहरुको स्केच बनाएर प्रहरीले खोजी गरिरहेको छ। यीबाहेक घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।