बोगोटा– कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ। तालिम जारी रहेको अवस्थामा सैनिक विद्यालयमा भएको कारबम आक्रमण्मा परि कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते भएपछि सरकारले शोकको घोषणा गरेको हो।
यस देशमा गएको १६ वर्ष यताको यो सबैभन्दा भिषण आक्रमण भएको सरकारी अधिकारीहरूले बताएका छन्।
आतङ्ककारीहरूले ८० किलोग्राम विस्फोटक पदार्थ बोकेको एक सवारी साधन विस्फोट गराएका रक्षा मन्त्रालयले जानकारी दिएको छ।
दुर्भाग्यबस यस बम आक्रमणमा परि २१ व्यक्तिको मृत्यु भएको र मृतकहरुमा आक्रमणकारी समेत रहेका पनि सो समाचारमा बताइएको छ।
यस घटनामा घाइते भएका ६८ जनामा ५८ उपचारपछि घर फर्केका बताइएको छ। रक्षा मन्त्रालयले सुरुमा दिएको जानकारी अनुसार यस आक्रमणमा ११ जनाको मृत्यु हुनुको साथै ६५ घाइते भएका थिए।
कोलोम्बियाका राष्ट्रपति इभान डुक्वेले यस घटनापछि दुःख व्यक्त गरेका छन्। उक्त दुःखद घटनापछि गरेको ट्वीटमा लेखेका छन्, 'सबै कोलोम्बियाली आतङ्कवादलाई अस्वीकार गर्छन् र सबै एक भई आतङ्कवादविरुद्ध लड्नेछन्।'
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएका छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।