काठमाडौं– नेपाल थाइल्यान्डमा जारी ‘वुमेन्स टि–२० स्म्यास’को फाइनलमा प्रवेश गरेको छ। इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाली महिला टोलीले अन्तिम दुईमा स्थान सुरक्षित गर्न सफल भएको हो।
टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १९ रन बनाउन सफल भएको थियो। नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन्। यस्तै इन्दु बर्माले अविजित ३७, काजोल श्रेष्ठले १४ रन तथा नेरी थापाले ५ रनको योगदान दिइन्। कप्तान रूविना क्षेत्री भने २ रनमा आउट भएकी थिइन्।
१ सय २० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा नै समेटिएको थियो। नेपाली बलरका अघि इन्डोनेसियाका ब्याट्सवुमन निरीह देखिएका थिए। इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीहरुले दोहोराे अंकमा रन बनाउन सकेनन्। इन्डोनेसियाका ४ खेलाडी शून्य रनमा आउट भएका थिए।
इन्डोनेसियामाथि फराकिलो जित हात पार्नेक्रममा कप्तान क्षेत्रीले ३, सीता राना मगरले २ तथा कविता कनुवार, नेरी थापा र सरिता मगरले समान १/१ विकेट लिए।
प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले अब उपाधिका लागि युएई र आयोजक थाइल्यान्डबीचको विजेतासँग खेल्ने छ।
फागुनमा थाइल्यान्डमा हुने आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले यो प्रतियोगितामा सहभागिता जनाइरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।