काठमाडौं– नेपालमा आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो–क्वालिफायर)’को 'क्यालेन्डर'सहित ‘फ्लायर’ अमेरिकामा सार्वजनिक गरिएको छ।
‘आइएफबिबी प्रोफेसनल लिग’को अमेरिकास्थित ‘हेडक्वाटर’ले प्रतियोगिताको विषयमा क्यालेन्डर र ‘फ्लायर’ सार्वजनिक गरेको हो।
अमेरिकामा सार्वजनिक क्यालेन्डर र ‘फ्लायर’मा नेपालमा आयोजना हुने ‘प्रो–क्वालिफायर’ यस वर्षको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएको उल्लेख छ।
नेपालभन्दा अगाडि भारतका ४ वटा शहरमा यो प्रतियोगिता आयोजना हुँदैछ। तर, भारतमा हुने प्रतियोगिताहरू क्षेत्रीय मात्र भएको उल्लेख छ।
‘आइएफबिबी लिग नेपाल’का अध्यक्ष सानु गुरुङले नेपालमा आयोजना हुन लागेको ‘प्रो–क्वालिफायर’को विषयमा अमेरिकामा क्यालेन्डर सार्वजनिक गर्नुले प्रतियोगिताको महत्वलाई झल्काएको बताए। उनले नेपाली बडिबिल्डिङ क्षेत्रका लागि मात्र नभएर सम्पूर्ण खेल जगतका लागि खुसीको खबर भएको जनाए।
‘यसले विश्वभरी छरिएर रहेका बडिबिल्डर माझ नेपाल पनि बडिबिल्डरहरूको देश हो भनेर चिनाउन मद्दत पुग्ने छ,’ गुरुङले भने।
‘आइएफबिबी प्रोफेसन लिग’ले आफ्नो ‘वेभसाइट’मा सार्वजनिक गरिएको ‘फ्लायर’मा विश्वको सर्वोच्च शिखर सगरमाथाको पृष्ठभूमिमा ‘गेस्ट पोजर’को रुपमा नेपाल आउन लागेका विश्वकै ठूलो ज्यान भएका बडिबिल्डर रोली विङ्कलारको फोटो पनि समावेश गरिएको छ।
‘आइएफबिबी लिग नेपाल’ले गत बुधबार पत्रकार सम्मेलन गरेर रोली विङ्कलार नेपाल आउन लागेको सार्वजनिक गरेको थियो। विङ्कलारले आफू छिट्टै नेपाल आउने सन्देशसहितको भिडियो पनि सामाजिक सञ्जालमा पोस्ट गरिसकेका छन्।
‘हामीलाई अन्य देशबाट इमेल प्राप्त भइरहेको छ,’ अध्यक्ष गुरुङले भने, ‘खेलाडीहरूले नेपाल आउने प्रक्रियाको विषयमा हामीलाई सोधिरहेका छन्।’
प्रतियोगिता फागुन ३ र ४ मा प्रज्ञा भवन कमलादीमा आयोजना हुँदैछ।
प्रतियोगिताकाे ‘फ्लायर’:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।