जनकपुर– धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका छात्राहरुलाई नयाँ वर्षमा साइकल उपहार दिइने भएको छ।
क्षीरेश्वरनाथ नपाका प्रमुख योगेन्द्र पंजियारले सामुदायिक विद्यालयहरुमा अध्यनरत छात्राहरुलाई साइकल वितरण गर्ने योजना रहेको बताए।
नगरपालिकाका विभिन्न गाउँ र टोलहरुबाट घन्टौं समय लगाएर विद्यालयमा अध्ययन गर्न जान र आउन बाध्यता भएका कक्षा ९ मा अध्ययनरत ३ सय ५० जना छात्रालाई साइकल वितरण गर्न लागिएको पंजियारले जानकारी दिए। उनले भने, ‘नगरपालिका क्षेत्र भित्रका ५ वटा माध्यमिक विद्यालय र एक निम्न माध्यमिक विद्यालय छनोट गरेका छौं। कक्षा ९ मा पढ्ने लगभग ३ सय ५० छात्राहरुलाई साइकल वितरण गर्ने योजना छ।’
प्रदेश २ का मुख्यमन्त्रीद्वारा सञ्चालित ‘बेटी बचाऔं, बेटी पढाऔं’ अभियानलाई सार्थक तुल्याउन टाढा–टाढाबाट पढ्न आउने गरीब, दलित तथा जेहन्दार छात्राहरुलाई विद्यालय आउन सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गर्न लागिएको नगरप्रमुख पंजियारले बताए।
‘तराईका मधेसी समुदायमा छोरीलाई पनि छोरा सरह पढाउनु पर्छ भन्ने सोच कम छ’, उनले भने, ‘उक्त सोचमा परिवर्तन ल्याउन, विद्यालयसम्म पुग्न सहज होस् भन्न र उच्च शिक्षाका लागि अभिभावकहरु पनि छोरीलाई विद्यालय पठाउन तयार होउन भन्ने उद्देश्यका साथ यो योजना ल्याइएको हो।’
यस अभियानका लागि हाल नगरपालिकाबाटै बजेट विनियोजन गरिएको नगरप्रमुख पंजियारले बताए।
नगरपालिकाले साइकलको व्यवस्था गरेपछि विद्यार्थीहरुको विद्यालयप्रतिको रुची बढेर जाने क्षीरेश्वरनाथ नगरपालिका–५ का एक अभिभावक घुरन यादवले बताए।
नगरकार्यपालिकाको माघ २ गतेको बैठकबाट साइकल बाँड्ने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार नै तोकिएका स्थानका विद्यालयमा छात्राहरुको विवरण पठाउनको लागि परिपत्र गरिने र विवरण प्राप्त हुने बित्तिकै बैसाखमा छात्राहरुलाई नयाँ वर्षको उपहारस्वरुप साइकल वितरण गर्ने पंजियारले जानकारी दिए।
नगरपालिकाले साइकल वितरण गरेपछि नगरमा महिलाको साक्षरता दरसमेत बढ्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव यादवको भनाइ छ।
यसका साथै नगरपालिकाले विकास निर्माणको कामलाई पनि तीब्र गतिमा अगाडि बढाइरहेको छ। साथै नगरपालिकाको वडा नम्बर ५ मा विश्वकै सबैभन्दा ठूलो सीताको मुर्ति बनाउने कार्य पनि सुरु गरिसकेको प्रमुख पंजियारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।