बुटवल– नेपाली कांग्रेसले बुटवलमा शक्ति प्रदर्शन गरेको छ। कांग्रेसले गरेको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै नेताहरुले प्रदेश ५ को राजधानी रुपन्देही र नाम लुम्बिनी बाहेक केही सोच्न नसकिने बताएका छन्।
नेताहरुले प्रदेशको राजधानी रुपन्देही र नाम लुम्बिनी स्थापित भइसकेको उल्लेख गर्दै त्यस विषयमा बढी बहस गर्न जरुरी नरहेको उल्लेख गरे। नेताहरुले लुम्बिनी क्षेत्रको अवमूल्यन नगर्न चेतावनी दिएका छन्।
नेताहरुले लुम्बिनी क्षेत्रले विश्वभर शान्ति र सद्भाव फैलाउन महत्वपुर्ण योगदान पुर्याएको उल्लेख गर्दै लुम्बिनीको अवमूल्यन नगर्न आग्रह गरेका हुन् ।
कांग्रेस रुपन्देहीले आज बुटवलमा आयोजना गरेको खबरदारी सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय संसद्का प्रमुख सचेतक बालकृष्ण खाँणले रुपन्देहीले मुलुकलाई नै एकताको सन्देश दिएको दावि गरे।
नेता खाँणले विश्व समुदायले मान्ने बुद्ध जन्मस्थल लुम्बिनीलाई मान्दिन भन्नु बुद्धकै अपमान हुने तर्क गर्दै एकताको सन्देश दिन आग्रह गरे।
‘बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वले मानेको छ’, नेता खाँणले भने, ‘यहीँका व्यक्तिले मान्दिनँ भन्नु नसुहाउने कुरा हो, यो प्रदेशको नाम लुम्बिनी हुँदैन भनेर कसले भन्छ?’ रुपन्देही मुलुककै आर्थिक केन्द्रको रुपमा विकास भइरहेको भन्दै उनले यो प्रदेशको केन्द्र पनि रुपन्देही नै हुने बताए।
अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले कम्युनिस्टहरुबाट मुलुकलाई खतरा रहेको दाबी गरे। उनले दुई तिहाइ सरकारले जनतामा सपनामात्रै बाँडेर सरकार टिकाउने काम बाहेक अरु केही नगरेको दावी गरे।
‘जनताका आवश्यकताबारे सरकारले सोच्दैन, सपना बाँड्ने बाहेक अरु केही गर्दैन, अनि जनता भुलेका छन् भनेर सरकार चलाउँछ’, उनले भने, ‘ए सरकार तिम्रो पानीजहाज, ग्यास पाइप कहाँ गयो, कहाँ गए तिम्रा ठूला ठूला सपना?’
अर्का नेता देवेन्द्र राज कँडेलले प्रदेश नम्बर ५ को सीमा अरु विस्तार गर्न आवश्यक रहेको बताए। उनले प्रदेश ५ मुलुककै नमूना प्रदेश भएकाले यसको सीमा चीनसम्म विस्तार गर्न आवश्यक रहेको बताए। उनले धर्मनिरपेक्ष मुलुक बनाउँदा गम्भीर रुपले सोंचविचार नभएकाले धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने तर्क गरे ।
कांग्रेस प्रदेश ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले प्रदेश ५ को राजधानीबारे धेरै विवाद गर्न जरुरी नरहेको बताए। उनले प्रदेश राजधानी बुटवलबाहेक अन्यत्र सोच्न नसकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।