काठमाडौं– ‘द विष्ट’ को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्कलारले पहिलो पल्ट नेपाललाई सम्बोधन गरेका छन्।
नेपाली खेल इतिहासमा पहिलो पल्ट आयोजना हुन लागेको ‘आइएफबिबि प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर) का लागि विङ्कलार फागुन २ मा काठमाडौ आउँदैछन्।
आयोजक 'आइएफबिबि लिग नेपाल'लाई उनले पठाएको भिडियोमा भनेका छन्, ‘हेलो नेपाल। म आउँदैछु प्रमोटर सानु (गुरुङ) लाई भेट्न।’
उनले भिडियो सन्देशमा नेपालमा आयोजना हुने ‘प्रो क्वालिफायर’ मा भाग लिने सबै खेलाडीसँग छिट्टै भेट हुने पनि बताएका छन्। विङ्कलारले नेपाललाई लिएर दिएको यो पहिलो अभिव्यक्ति हो।
फागुन ३–४ मा प्रज्ञा भवनमा आयोजना हुने ‘प्रो क्वालिफायर’ मा ‘गेष्ट पोजर’ को भूमिकामा विङ्कलार काठमाडौं आउन लागेका हुन्।
विङ्कलार बडीबिल्डिङमा सबैभन्दा बढी खोजिने पात्र हुन्। उनको इन्स्टाग्राममा मात्र ‘फलोअर’ १२ लाख छ।
फेसबुकमा १ लाखभन्दा बढी ‘फलोअर’ छन्। विङ्कलारको पाखुरा मात्र २४ इन्चीको छ। नेदरल्यान्डमा जन्मिए पनि आफ्नो व्यावसायिक खेल जीवनका कारण उनी अमेरिकामा बसोबास गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।