नैरोबी– केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार गराइएको बम आक्रमण र गोलाबारीमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ।
घटनामा घाइते भएका २८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र १९ जना अझै सम्पर्कबाहिर रहेको सरकारी अधिकारीले बताएका छन्।
करीब १९ घन्टासम्म चलेको सुरक्षा कारबाहीमा होटलमा फसेका झन्डै ७ सय व्यक्तिलाई उद्धार गरिएको थियो।
एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपरान्ह अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको थियो।
आक्रमणमा सयौँ व्यक्ति फेसेका र ती व्यक्तिहरुलाई उद्धार गरिएको यहाँका राष्ट्रपति उहुरु केन्याताले बताए।
आक्रमण स्थानीय समयअनुसार मंगलबार दिनको ३ बजेबाट सुरु भएको थियो। बन्दुकधारीहरुले सुरुमा कार पार्किङ स्थलमा बम पड्काएर होटलको लबी तथा पाहुना कक्षमा प्रवेश गरेका थिए।
यस आक्रमणको जिम्मेवारी अल–कायदासँग आबद्ध सोमालियाको अल–शबाब समूहले लिएको छ। सन् २०११ को अक्टोबरमा जिहादी समूहसँगको लडाइमा सोमालियामा सेना पठाएपछि केन्यामा बारम्बार यस समूहले आक्रमण गर्दै आएको छ।
सन् २०१३ मा नैरोबीको पश्चिमी गेटमा रहेको एक सपिङ मलमा भएको आक्रमणमा कम्तीमा ६७ जनाको मृत्यु भएको थियो।
सन् २०१५ को अप्रिल २ मा पूर्वीकेन्यामा रहेका गारिस्सा विश्वविद्यालयमा शबाब समूहले गरेको आक्रमणमा कम्तीमा १ सय ४८ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।