काठमाडौं– पछिल्लो समय धेरै अनियमितता हुने निकायमा कम्पनी रजिष्ट्रारको कार्यालय पनि थपिएको छ। भ्रष्टाचारको आरोपमा उक्त कार्यालयबाट महिनैपिच्छे कर्मचारी पक्राउ पर्न थालेका छन्।
मंगलबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई घुससहित पक्राउ गर्यो।
उनले दर्ता रहेको स्कुलको कर तिर्न जाने सेवाग्राहीसँग राजस्व रकम कम गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएकी थिइन्। उनीमाथि थप अनुसन्धान अघि बढेको अख्तियारले जनाएको छ।
यसअघि गत २८ मंसिरमा सोही कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियारले पक्राउ गरेको थियो।
उनले सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए। उनीविरुद्ध ७ हजार रुपैयाँ बिगो कायम गर्दै गत १९ पुसमा विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरिसकेको छ।
यसैगरी गत ११ असोजमा अख्तियारले कार्यालयकै उप–रजिष्ट्रारद्धय धर्मराज रोकाय र गंगाधर पौडेललाई अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको थियो।
शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रालिका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको आरोपमा उनीहरूलाई अख्तियारले पक्राउ गरेको थियो।
साविकमा मालपोत, वैदेशिक रोजगार विभाग, यातायात व्यवस्था विभागमा अक्सर घुस लेनदेन र अनियमितताका गतिविधि हुने गरेकामा अहिले कम्पनी रजिष्ट्रार कार्यालयमा पनि यस्ता गतिविधि बढेका छन्।
आयोगले गत आर्थिक वर्ष (आव) २०७४/७५ मा परेको उजुरीमा सबैभन्दा बढी शिक्षा, संघीय मामिला, भूमिसुधार, वन, स्वास्थ्य, गृह, भौतिक पूर्वाधार तथा यातायात लगायत छन्।
आयोगका अनुसार गत आवमा शिक्षामा १८ दशमलव ३२, संघीय मामिलामा १८ दशमलव शून्य २, भूमिमा ६ दशमलव ४८, वनमा ४ दशमलव ४८, स्वास्थ्यमा ४ दशमलव ३७, गृह प्रशासनमा ४ दशमलव १३ र भौतिक पूर्वाधार तथा यातायातमा २ दशमलव ८२ प्रतिशत उजुरी परेको छ।
उक्त आवमा अख्तियारले घुस/रिसवतसम्बन्धी ९७ वटा रङ्गेहात कारबाही गरेको थियो। जसमा सहसचिवदेखि सहायकस्तरसम्मका १ सय ५४ जना राष्ट्रसेवक तथा अन्य व्यक्ति थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।