काठमाडौं– वैदेशिक रोजगारीबाट फर्किएका युवाको ठूलो समूह सरल कर्जा फारम भर्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा लाइन लागिरहेको छ। सरल कर्जाका लागि आवेदन म्याद पुस मसान्त (आज) सम्म भएकोले ऋण लिएर उद्यमी बन्न चाहने युवाको भीड बोर्डमा देखिएको हो।
सरकारले सोचेभन्दा निकै ठूलो संख्यामा युवा कर्जाका लागि आकर्षित भएर आवेदन दिइरहेका छन्। सहुलियत कर्जा वितरणमा सरकारलाई भने निकै चुनौती देखिएको छ। सरकारले फारम भर्नेजति सबैलाई सरल कर्जा उपलब्ध गराउन सक्छ या सक्दैन भन्ने प्रश्न उठ्न थालेको छ। फारम भर्ने युवाहरु नै ऋण पाउनेमा आशावादी देखिँदैनन्।
‘हामीलाई सरकारले ऋण दिन्छु भनेर दुःखमात्र दिन खोजेको हो कि भन्ने शंका छ। लाइन त लागियो तर ऋण पाइने/नपाइने टुंगो छैन,’ आवेदन दिनेहरुको भीडमा यस्तो आवाज सुनिन्छ।
दैनिक एक हजारको हाराहारीमा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेर फर्किएका युवाको लाइन हुने गरेको बोर्डले जनाएको छ। ती युवाहरु माछापालन, कुखुरापालन, ड्राइभिङ, किराना पसल लगायतका व्यवसाय गर्न इच्छुक देखिएका छन्। तर, नेपालमा नै केही व्यवसाय गर्छु भन्ने सबै युवालाई कर्जा उपलब्ध गराउनु सरकारका लागि चुनौतीपूर्ण देखिएको छ।
सरकारले युवालाई स्वरोजगार बनाउने उद्देश्यले ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ ल्याएको थियो।
कार्यविधिमा बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाका लागि ५ करोड, शिक्षित युवा स्वरोजगार कर्जा प्रतिव्यक्ति ७ लाख, विदेशबाट फर्किएका युवा परियोजना कर्जा १० लाख, महिला उद्यमी १५ लाख, दलित समुदाय व्यवसाय कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यवसायी शिक्षा कर्जा ५ लाख र भूकम्पपीडितको निजी आवास निर्माण कर्जाका लागि ३ लाख रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
सरल कर्जाको लागि आवेदन दिने समय एक दिन बाँकी हुँदा १५ हजार युवाले सरलकर्जा फारम भरिसकेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले बताए।
धेरै युवाले सहुलियतपूर्ण ऋणका लागि आवेदन दिए पनि चालू आर्थिक वर्षमा करिब ७ सयदेखि १ हजार जना युवाले मात्र सहुलियत ऋण पाउनसक्ने बोर्डले जनाएको छ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार सहुलियत ऋणका लागि आवेदन भर्ने सबै युवाले ऋण नपाउने स्पष्ट पारे। ‘कार्यक्रम पहिलो पटक कार्यान्वयनको क्रममा रहेकोले यससम्बन्धी धेरै व्यवस्था गर्दै लैजानु पर्नेछ। त्यसकारण पनि यो वर्ष सीमितका लागि मात्रै ऋण उपलब्ध गराइनेछ।’

युवाहरुले बनाएको व्यावसायिक योजनाका आधारमा सरकारले सरल कर्जाका लागि छनोट गर्ने उनको भनाइ छ। बोर्डले सरल कर्जाका लागि निमयन मात्र गर्ने र आवेदन दिएकामध्ये कतिले ऋण पाउँछन् भने अहिले टुंगो नलाग्ने कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ बताउँछन्।
के भन्छन् आवेदन दिन आएका युवा
कतारबाट फर्किएर सरल कर्जाका लागि बोर्डमा आवेदनका लागि आएकी ललितपुरकी शोभा गौतम सरकारले उपलब्ध गराउने सरल कर्जा पाए ढुक्कसँग नेपालमै व्यवसाय गरेर बस्ने बताउँछिन्।
‘श्रीमान् सडक दुर्घटनामा परेर अपांग हुनुभयो। तीन छोराछोरी छन्। घरमा आम्दानीको बाटो नभएपछि आफैं कामका लागि कतार पुगें,’ उनी भन्छिन्, ‘सरकारको सरल कर्जा पाए देशमै बसेर केही गर्न सकिएला नत्र फेरि कतार नै फर्कनुको विकल्प छैन।’
युएईमा ट्याक्सी ड्राइभरको काम गरेर फर्किएका धादिङका मनोज आलेमगर सरल कर्जा पाएमा देशमै ट्याक्सी किनेर चलाउने सोचमा छन्। ‘सरकारले सरल कर्जा उपलब्ध गराउने कुरामा एकदम खुसी छु, नेपालमै व्यवसाय गर्न सरकारले साथ दिए त किन विदेशिनु प¥यो र?,’ उनेले भने।
यस्तै बोर्डमा भेटिएका धुनषाका रामनाथ यादव पनि कृषि व्यवसाय सञ्चालन गर्ने योजनाअनुरुप सरल कर्जाका लागि फारम भरेको बताउँछन्। ‘मसँग कुनै विशेष सीप त छैन तर नेपालमै खेतीपाती गर्न चाहन्छु। जसका लागि सरकारले कर्जा दिनुपर्छ,’ उनी भन्छन्।
सरलकर्जा बोर्डले उपलब्ध गराउने नभएर सरकारले उपलब्ध गराउने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन्। वैदेशिक रोजगारबाट फर्किएका कुनै निश्चित सीप भएका कामदारलाई सरकारले उपलब्ध गराउने सरल कर्जामा पुरुष कामदारको उपस्थिति उल्लेख्य रहेको छ भने महिला कामदार आकर्षित भएका छैनन्।
पछिल्ला दिनमा १ हजारभन्दा बढी सेवाग्राही फारम भर्नका लागि आए पनि सरल कर्जाका लागि फारम भर्ने महिलाको संख्या भने न्यून रहेको बोर्डले जानकारी दिएको छ।
ऋण लिन चाहने वैदेशिक रोजगारीबाट फर्किएका युवाले कुनै पनि देशको स्थायी बसोबास जस्तैः पिआर, ग्रिनकार्ड लिएको हुनुहुँदैन। उद्यम सञ्चालन तथा ऋण उपयोग कसरी गर्ने भन्ने संक्षिप्त प्रस्ताव तयार पारेर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।