पेरिस, फ्रान्स– हुवावेको फाइभ–जी टेलिकम सामग्रीलाई बहिस्कार गर्न गरिएको अमेरिकी आग्रहमा मिश्रित प्रतिक्रिया आएका छन्। केही मुलुकका सरकारले हुवावेले जासुसी गरेको आशङ्कालाई खण्डन गरेका छन् भने केहीले प्रतिबन्धको समर्थन गरेका छन्।
कम्पनीका लागि पछिल्लो चुनौतिका रूपमा रहेको उक्त विषयमा पोल्याण्डमा कार्यरत एक जना कर्मचारीले चीनका लागि जासूसी गरेको आरोप लगाइएपछि उनलाई कम्पनीले पदबाट बर्खास्त गरेको थियो। उनीमाथि लगाइएको आरोपको कम्पनीसँग कुनै सम्बन्ध नरहेको हुवावाले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो।
हुवावेको संस्थापककी छोरीलाई यस पहिले नै अमेरिकी अनुरोधमा क्यानाडाबाट पक्राउ गरिएको थियो। अमेरिकाले हुवावेमाथि सुरक्षा चासो देखाउँदै उसलाई अन्तराष्ट्रिय रूपमा कालो सूचीमा राख्ने प्रयास गरेको छ।
विश्लेषकहरूले बताए, “यसबारे कतिपय एसियाली तथा प्रशान्त क्षेत्रका मुलुकहरूले वासिङ्टनको हुवावेमाथि प्रतिबन्ध लगाउने आह्वानप्रति समर्थन जनाएका छन्। तर युरोपमा भने यसको प्रभाव सुक्ष्मभेदी देखिएको छ किनकि हुवावेको फाइभ–जी सेवा क्षमताहरू साह्रै नै आकर्षक छन्। तिनीहरू स्वीडेनको एरिक्सन, फिनल्याण्डको नोकिया र दक्षिण कोरियाको सामसुङकाभन्दा निकै अघि छन्।”
पाँचौ पुस्ताको (फाइभ–जी) प्रबिधिले ताररहित सञ्चार गतिमा गुणात्मक फड्को मार्न सक्षम बनेको छ र यो स्वचालित कारलगायतका इन्टरर्नेटजन्य विकासका लागि महत्वपूर्ण मानिएको छ। त्यसैले यूरोपले जतिसक्दो छिटो उक्त प्रबिधिलाई विस्तार गर्न चाहन्छ।
“प्रविधिको सञ्चालकहरूले विकल्पहरूको खोजी गरिरहेका छन् र हुवावेको सेवालाई थप नवीन र सम्भवतः फाइभ–जी का लागि उत्तम विकल्प मानेका छन्,” फिच सोलुसनका विश्लेषक डेक्सटर थिलियनले भने।
अमेरिकासहित जापान र अष्ट्रेलियाले फाइभ–जी इन्टरनेट सञ्जाल विस्तारमा नै रोक लगाएका छन्। तर पोर्चुगल, नर्वे, बेलायत, स्पेन, जर्मनी, पोल्याण्डलगायतका देशहरूमा यसका सेवा रूचाइएको छ।
युरोपमा हुवावेको बजार बढ्ने सम्भावना व्यापक छ भने मध्यपूर्व र अफ्रिकामा २७ प्रतिशत बजार हुवावेको रहेको छ। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।