विराटनगर- विराटनगरमा अवैध हुण्डी कारोबारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा विराटनगर महानगरपालिका–७ स्थित आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थाबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेका ३ जनालाई आइतबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा विराटनगर–७ का ३२ वर्षीय राजेश हेडा, विराटनगर–११ बस्ने २५ वर्षीय सुमित साह र विराटनगर १२ बस्ने ४१ वर्षीय दीपक कुमार कर्ण रहेका छन्।
पक्राउ परेका व्यक्तिमध्ये राजेश हेडा सोही सहकारी संस्थाको अध्यक्षसमेत रहेको अनुसन्धानबाट खुलेको छ।
उनको कार्यकक्षबाट ६० लाख ७ हजार ६ सय बरामद गरिएको छ। हेडाले उक्त सहकारी संस्थाको आडमा हुण्डी कारोबार गर्दै आएको प्रारम्भिक सोधपुछको क्रममा खुलेको छ।
त्यस्तै, उक्त सहकारी संस्थाबाट नै सुमित साहको साथबाट ९ लाख ५० हजार रकम समेतबरामद गरिएको छ।
उनले उक्त रकम राजेश हेडाबाट बुझी लान लागेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सहकारी संस्थाको म्यानेजर दिपक कुमार कर्णलाई समेत अनुसन्धानको क्रममा पक्राउ गरिएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग इटहरी पठाइने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।