जनकपुर– प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्र यादवले संघीय सरकारका कारण नै प्रदेशभित्र थुप्रै समस्या देखिएको बताएका छन्।
आइतबार 'पत्रकारितामा अवसर र चुनौती विषयक अन्तर्क्रियामा मन्त्री यादवले भने, 'कानुन बनाउने बेलामा संघीय सरकारले प्रदेशलाई सहयोग गर्नुपर्नेमा असहयोग गरेको छ।'
यादवले प्रमुख जिल्ला अधिकारीलाई केन्द्र सरकारले शक्तिशाली बनाउन लागेको भन्दै आक्रोश व्यक्त गरे।
मन्त्री यादवले अवसर भएको ठाउँमा चुनौती पनि भएको बताए। उनले भने, 'चुनौती कम गर्दै अवसर बढाउँदै जाने हो भने सञ्चार क्षेत्रमा राम्रो हुन्छ।’
प्रदेश सरकार गठनपछि अहिले सञ्चारमा अवसर बढेको बताउँदै यादवले भने, ‘अहिले प्रदेशमा पत्रपत्रिकाका कार्यालय खुल्दैछन् र सञ्चारकर्मीलाई अवसर पनि बढ्दैछन्।’
सञ्चारकर्मीका लागि प्रदेश २ मा सुविधासम्पन्न तालिम सेन्टरको व्यवस्था भए अझ गुणात्मक रुपमा निखार आउनेसमेत विश्वास उनले व्यक्त गरे ।
अहिले नीतिगत संक्रमणकालीन व्यवस्था रहेकाले चाहेर पनि सोचेअनुरूप काम गर्न नसकेको उनले बताए। ‘पत्रकारितामा महिलाको सहभागिता कम छ, भएकोलाई पनि पारिश्रमिक कम छ, चुनौती धेरै छ’, उनले भने।
सञ्चारसम्बन्धी विधेयकमाथि अहिले विमर्श भइरहेको र सञ्चारकर्मीको भावनालाई ध्यानमा राखेर नै कार्य हुँदै गरेको उनले स्पष्ट पारे।
नेपाल प्रेस काउन्सिल सदस्य नवल यादवले इलेक्ट्रोनिक मिडियाका कारण पत्रकारिताको लेखनशैली प्रभावित भएको बताए।
‘पत्रकारिता पेसामा अवसर र चुनौती’ विषयक अन्तर्कियामा सदस्य यादवले भने, ‘अहिले कपीपेस्ट बढ़ी भएको छ, पत्रकारिताका लागि यो एउटा चुनौती नै छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।