धनगढी– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।
उनले आफ्नो गल्ती ढाक्न वर्तमान सरकार विभिन्न प्रपन्चमा लागेको बताए।
आइतबार नेपाल पत्रकार महासंघ कैलाली शाखाले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले वाइडबडी विमान खरिद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी ओली सरकारकै पालामा भएको बताए।
देउवाले खल्तीबाट कागज निकाली वाइडबडी विमान प्रकरणका सम्पूर्ण नीति र निर्णय मितिसहित पत्रकारलाई सुनाए।
देउवाले भने, ‘२०७२ साल असोज २१ गते वाइडबडी खरिद गर्ने निर्णय भएको थियो। त्यतिबेला प्रधानमन्त्री केपी ओली थिए, त्यस्तै २०७३ वैशाख २ गते केपी ओलीकै पालामा खरिदको बोलपत्र गरिएको थियो।’
पूर्वप्रधानमन्त्री देउवाले थपे, ‘मेरो पालामा वाइडबडी विमानबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो यो सब अहिलेको सरकारको जनतालाई भ्रम पार्ने खेल हो।’
सभापति देउवाले नेपाली कांग्रेस एक ढिक्का भई अघि बढेको बताउँदै आगामी दिनमा पनि सशक्त तरिकाले अघि बढने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।