धनगढी– मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको ११ औं मिनेटमा हेमन गुरुङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले दोस्रो प्रयासमा नियन्त्रण गरे।
२९ औं मिनेटमा तीर्थ रानाले २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कँदा पुलिस अग्रता लिनबाट वञ्चित भयो।
दोस्रो हाफमा आक्रामक देखिएको पुलिसका लागि सुरुवाती मिनेटमा निरकुमार राईको प्रहारले पोस्टको दिशा लिन सकेन।
६२ औं मिनेटमा हेमन गुरुङको क्रसमा मोहमद आसिफको हेडरलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए।
खेलको ६८औँ मिनेटमा पुलिसले अग्रता लियो। तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई निरकुमारले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली भली प्रहारमा गोल गरे। ८०औँ मिनेटमा पुलिसका अब्दु करीमको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो।
पराजित टोलीका प्रशिक्षक तोपे फुजाले लिग सकिएपछि खेलाडीले विश्राम नपाएका कारण फिटनेसमा समस्या देखिएको बताए।
निर्णायक गोल गरेका निरकुमार खेलको आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे।
यस जितसँगै पुलिसले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ। पुलिसले अब सेमिफाइनलमा सीएमजी संकटा र क्यामरुनको धाउफिन्स एफसीको विजेतासँग खेल्नेछ।
धाउफिन्स प्रतियोगितामा सहभागी हुन नेपाल आइसकेको जानकारी प्रतियोगिताका प्रवक्ता ओमविक्रम चन्दले बताए।
मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ।
उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्।
सोमबार तेस्रो क्वाटरफाइनलमा भ्याली च्यासल युवा क्लब र रुस्लान थ्री स्टार भिड्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।