गुल्मी– गुल्मीमा अवैध रुपमा भरुवा बन्दुक बनाउने एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका–३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमै आरन सञ्चालन गरी अवैध रुपमा भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको हो।
प्रहरीले पत्रकार सम्मेलनमार्फत भरुवा बन्दुक बनाउन प्रयोग हुने सम्पूर्ण सामग्रीसहित जिसीलाई सार्वजनिक गरेको छ।
जिसीको घरबाट तीन थान भरुवा बन्दुक, मेडइन कोलकत्ता लेखिएको एक थान टोय एर गन, दुई थान बन्दुकको नाल र बन्दुकको छर्रा बनाउन प्रयोग हुने रड, बारुद, पटका, बन्दुकको टेगर, सटगनको खोका, ब्याट्री, युरिया र आरन पङ्खालगायतका सामाग्री बरामद गरेको प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए।
प्रहरीले विशेष सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा इलाका प्रहरी कार्यालय पुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घरमा हतियार बनाउने कारखानासहित जिसीलाई पक्राउ गरेको हो।
प्रहरीले गत साता धुर्कोट गाउँपालिका– ७ निवासी कृष्ण घर्तीको घरबाटसमेत एक नाल भरुवा बन्दुक बरामद गरेको थियो।
पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।