काठमाडौं– प्रतिनिधिसभाले विभिन्न ३ वटा विधेयक पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन ) विधेयक २०७५, भुक्तानी तथा फर्स्योट विधेयक २०७५ र निवृत्तभरण कोष विधेयक २०७५ लाई सर्वसम्मपति पारित गरेको हो।
अब यी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बन्ने छन् र प्रमाणीकरण भएकै दिनदेखि लागू हुने छन्।
त्यसैगरी, बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पेस भएको छ। शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको प्रतिवेदन सहित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस गरेकी हुन्।
बैठकमा सरकारले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ पेस गरेको छ। सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ प्रस्तुत गरेका हुन्।
राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले पेस गरेको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि गृहमन्त्री थापाले सो विधेयक बैठकमा पेस गरेका थिए।
त्यसैगरी “नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५” लाई बैठकले स्वीकृत गरेको छ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले “नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति स्वीकृत गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।