राजविराज– सामुदायिक वन क्षेत्रबाट जथाभावी माटो झिकेको भन्दै सप्तरीमा स्थानीयबासीले वन कार्यालको काममा अवरोध गरेका छन्।
रुपनी गाउँपालिकास्थित बाबा डिहिवार सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी र उपभोक्ताले वन कार्यालयको काममा अवरोध गरेका हुन्।
नर्सरी निर्माण गर्न डिभिजन वन कार्यालय राजविराजले माटो ढुवानीका लागि प्रयोग गरेको स१त ४४८८ नम्बरको ट्याक्टर समेत स्थानीयबासीले नियन्त्रणमा लिएका छन्।
शम्भुनाथ नगरपालिका– १, खोक्सर निवासी निर्मलादेवी साहको नाममा रहेको ट्याक्टर इलाका प्रहरी कार्यालय रुपनीको जिम्मा लगाइएको थियो। प्रहरीले आवश्यक अनुसन्धानका लागि ट्याक्टर पुनः इलाका वन कार्यालय रुपनीको जिम्मा लगाएको छ।
वन कार्यालयले सामुदायिक वनसँग समन्वय नै नगरी जथाभावी माटो झिक्न थालेको र उपभोक्ताले संरक्षण गरेका टिकका विरुवा नष्ट गरेपछि ट्याक्टर नियन्त्रणमा लिइएको सामुदायिक वन उभोक्ता समुहका कोषाध्यक्ष लालबहादुर महतोले बताए।
‘गत वर्ष पनि जथाभावी माटो झिक्दा कटान हुने र पहिरो जाने समस्या बढेको छ,’ महतोले भने, ‘वातावरणीय प्रभावको मूल्यांकन नै नगरी अहिले पनि माटो झिक्न थालेपछि हामीले रोक लगाएका हौं।’
रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले पनि वन कार्यालयले जथाभावी माटो झिकेर समस्या निम्त्याएको आरोप लगाएका छन्।
‘उपभोक्ताले वर्षौ लगाएर संरक्षण गरेका विरुवा जथाभावी ट्याक्टर कुदाएर नोक्सान गरिएको छ,’ उनले भने, ‘कसैलाई नटेर्ने र मनलाग्दी गर्ने प्रवृत्ति रोकनु नै राम्रो हुन्छ।’
डिभिजनल वन अधिकृत धिरेन्द्रप्रसाद सिंहले भने स्थानीय तहमा नर्सरी स्थापनाका लागि राष्ट्रिय वन क्षेत्रबाट माटो निकालिएको बताएका छन्।
वन पैदावार हानी नोक्सानी र वातावरणमा नकारात्मक असर नपर्ने गरी माटो निकालिएको दावी गरेका सिंहले अनावश्यक रुपमा स्थानीयबासीले काममा अवरोध गरेको आरोप लगाए।
वन कार्यालयले हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी र विष्णपुर गाउँपालिकामा नर्सरी स्थापनाका लागि सप्तरी वन प्राविधिक संघलाई इलाका वन कार्यालय शम्भुनाथ र कञ्चनपुर क्षेत्रबाट माटो निकाल्ने अनुमति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।