काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २ सय ३१ सवारी साधनका चालकलाई कारबाही गरेको छ।
महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारबाही गरेको हो। जसमा पुरुष १३ हजार ३ सय ३० र महिला ९ सय १ महिला चालक रहेका छन्। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारबाही गरिएको बताए। ‘आफ्नो लेन छोडेर अर्काको लेनबाट सवारी चलाउँदा धेरै दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनलाई कडाइ गरेको हो’, उनले भने।
महाशाखाले सिसिटिभी, गोप्रो क्यामेरा, बडिवान क्यामेराबाट समेत लेन अनुशासनको कारबाही गर्दै आएको छ। सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधन नम्बर टिपेर घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ।
लेन अनुशासन कायम नगर्ने सवारी साधनका चालकलाई ५ सय रुपैयाँ जरिवाना र एक घण्टा कक्षा लिइँदै आइएको छ। विसं २०७१ असोज २६ देखि लेन अनुशासन कायम नगर्ने सवारी साधनलाई कारबाही गर्दै आएको महाशाखाले हालसम्म दुई लाख ७९ हजार ७ सय ५६ सवारी चालकलाई कारबाही गरी कक्षा लिइसकेको छ। जसमा दुई लाख ६६ हजार ५ सय ८४ पुरुष र १३ हजार २ सय ७२ महिला रहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।