पोखरा– पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४/०७५ मा टिकट बिक्रीबाट ४ करोड ५१ लाख ९९ हजार ४ सय ९१ रुपैयाँ आम्दानी गरेको छ।
ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको गुफाको कूल ६ लाख ६६ हजार ९ सय ४१ आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अवलोकन गर्दा सो आम्दानी भएको हो। सो अवधिमा सबैभन्दा बढी १ सय रुपैयाँ दरका १ लाख ४९ हजार ३ सय ४५ वटा टिकट बिक्री गरी १ करोड ४९ लाख ३४ हजार ५ सय रुपैयाँ आम्दानी भएको थियो।
शनिबार यहाँ आयोजित गुफाको २३औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनमा कोषाध्यक्ष ऋषिराम बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समितिको आम्दानीको बारेमा जानकारी दिएका हुन्।
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले सो साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफाको संरक्षण र विकासका लागि सामूहिक प्रयासको खाँचो औँल्याएका थिए। मानव जीवन सबैप्रति उत्तरदायी हुँदै सेवाभावसँग जोडिनु पर्ने बताउँदै उनले समृद्धि एवं सुशासन प्राप्तिका लागि व्यक्तिको सेवा अपरिहार्य रहेको उल्लेख गरे।
गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सांसद वृन्दा रानामगर, पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तिर्थ अधिकारी, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा डा भूपति ढकाल, छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष झपीन्द्रराज रेग्मी, गुफा व्यवस्थापन समितिका उपाध्यक्ष तुल्सीराम बराल, पद्मबहादुर थापालगायतले सामाजिक विकासमा गुफाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।