काठमाडौं– सुधार गृह सञ्चालहरूले आवश्यक कानुन बनाउन माग गर्दै आफूहरूलाई सरकारले असहयोग गरेको गुनासो गरेका छन्।
लागु पदार्थ दुर्व्यसनमा फसेकालाई सुधार गर्ने प्रयास गरिरहेको सन्दर्भमा प्रशासनले आफूहरूमाथि अनावश्यक शङ्का गरेर दुःख दिने गरेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन्।
रिकभरी सोसाइटी अफ नेपालद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा सुधार गृह सञ्चालकले लागुपदार्थ दुर्व्यसनीमा फसेका नागरिक बारे काम गर्ने क्रममा निर्धक्क भएर काम गर्ने वातावरण नभएको भन्दै गुनासो गरेका हुन्।
अधिवक्ता विष्णु लुइटेलले सरकारले गर्नुपर्ने काम निजी क्षेत्र र केही सामाजिक अभियन्ताको तर्फबाट गरिरहेको सन्दर्भमा सरकारबाटै साथ नभएको गुनासो गरे।
सरकारले सो क्षेत्रका बारेमा आवश्यक कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।
साहारा नेपालकी अध्यक्ष एनी राईले नेपालमा महिला सु्धार गृहको अभाव भएको भन्दै सरकारलाई व्यवस्थापनका लागि आग्रह गरिन्। उनले लागुपदार्थमा फसेका महिलाका बारेमा घर परिवार नै बेखबर बन्ने हुँदा सुधार गर्न असहज भएको बताइन्।
रिकभरी सोसाइटी अफ नेपालका संयोजक रवीन कार्कीले सुधार गृहमाथि प्रशासनले विभिन्न आरोप लगाएर दुःख दिने गरेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।